हुलाकी सडक अन्तर्गत इनरुवा–कप्तानगञ्ज सडक निर्माणको ठेक्का तोडियो

हुलाकी सडक अन्तर्गत इनरुवा–कप्तानगञ्ज सडक निर्माणको ठेक्का तोडियो

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्तानगञ्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का रद्द गरिएको छ।

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना जारी गर्दै ठेक्का तोडिएको जानकारी दिएको हो।

सूचना अनुसार सडक स्तरोन्नति कार्यका लागि गरिएको ठेक्का सम्झौता गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँग तोडिएको हो। सडक निर्माणका लागि २०७८ माघ २ गते जेभीसँग करसहित ५२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार साउन २०८१ भित्र काम सम्पन्न हुनुपर्ने भए पनि निर्माण प्रगति करिब १८ प्रतिशत मात्र रहेको योजना कार्यालयले जनाएको छ।

सडक निर्माण गर्न सम्झौताअवधि २०७८ माघदेखि २०८३ असारसम्म थप गरिएको थियो। तर, पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले प्रतिवद्धता अनुसार काम नगरेको, साइट ठप्प पारेको र निर्माण कार्य अघि नबढाएकाले ठेक्का तोडिएको हो।

ठेक्का रद्दसँगै कार्य सम्पादन जमानतको १६ करोड ९४ लाख रुपैयाँ तथा पेश्कीका २ करोड ३१ लाखमध्ये १ करोड ७१ लाख रुपैयाँ जफत गरिनेछ। पेश्की रकममा १० प्रतिशत ब्याजसहित असुल गरिने कार्यालयले जनाएको छ। निर्माण व्यवसायीले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेका थिए।

गत साउनमा योजना कार्यालयले ‘किन ठेक्का नतोड्ने ?’ भन्दै १५ दिने स्पष्टीकरण मागेको थियो। तर, ठेकेदारले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद ऐन बमोजिम ठेक्का रद्द गरिएको हो।

कार्यालयका अनुसार निर्माण व्यवसायीले अद्यावधिक कार्यतालिका, स्रोत परिचालन योजना र काम सक्ने प्रतिबद्धता प्रस्तुत नगरेको, जिम्मेवार प्रतिनिधि उपस्थित नरहेको र काम सुचारु गर्ने तदारुकता नदेखिएको पुष्टि भएको छ। सार्वजनिक खरिद ऐनअनुसार कार्य सम्पादन जमानत रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकीसरह असुल गरिने र ठेकेदारलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ।

हालसम्म भएको कामको नापजाँच र बाँकी कामको मूल्याङ्कन तथा वित्तीय फरफारखका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्माण व्यवसायीलाई आग्रह गरिएको छ। उपस्थित नभएमा नापजाँच कार्यालयले स्वयं गर्ने जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्