लोड हुँदैछ...

मेनु

‘महिला हिंसा गर्नु घृणित कार्य हो भन्ने संकल्प गरे हिंसा न्यूनीकरण हुन्छ’

‘महिला हिंसा गर्नु घृणित कार्य हो भन्ने संकल्प गरे हिंसा न्यूनीकरण हुन्छ’

विराटनगर । ३४औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०२५ को अवसरमा आज मोरङको रंगेली नगरपालिकामा ‘किशोरी स्वास्थ्य परामर्श मेला’ आयोजना गरिएको छ । रंगेली नगरपालिकाले आयोजना गरेको मेलामा किशोरी शिक्षा, प्रजनन स्वास्थ्य र सामाजिक विकृतिविरुद्ध जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको थियो ।

मेलाको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हुने सबै प्रकारका महिला तथा लैङ्गिक हिंसा नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले समाजमा विद्यमान सामन्ती सोच र पुरुषवादी अहंकारका कारण महिला हिंसाका घटनाहरू भइरहेको भन्दै भने, ‘हामी पुरुषहरू आफूलाई माथिल्लो दर्जाको ठान्छौं, जसले विभेद सिर्जना गरेको छ । यदि पुरुषहरूले मात्रै महिला हिंसा गर्नु घृणित कार्य हो भन्ने संकल्प गर्ने हो भने समाजबाट ठूलो हिस्सामा हिंसा न्यूनीकरण हुन सक्छ ।’

किशोरीहरूको स्वास्थ्य र सामाजिक कुरीतिबारे बोल्दै मुख्यमन्त्री कार्कीले महिनावारी (रजस्वला) एउटा प्राकृतिक प्रक्रिया भएको कुरामा जोड दिँदै भने, ‘महिनावारी हुनु कुनै पाप वा दैवी श्राप होइन । यो शारीरिक परिवर्तनको स्वभाविक प्रक्रिया हो । यस्तो बेला छोरीहरूलाई छाउगोठमा पठाउने वा हेला गर्ने होइन, बरु घरपरिवारले पोशिलो खानेकुरा र हौसला प्रदान गर्नुपर्छ ।’ उनले जङ्गली जनावरको डर हुने स्थान वा असुरक्षित ठाउँमा सुत्न पठाउँदा छोरीचेलीहरू अनाहकमा जोखिममा परिरहेको भन्दै अभिभावकहरूलाई सचेत गराए ।

पछिल्लो समय विद्यार्थी र युवा पुस्तामा देखिएको निराशा, लागुपदार्थ दुव्र्यसन र अनुशासनहीनतालाई नियन्त्रण गर्न प्रदेश सरकारले ‘म अघि बढ्छु’ अभियानलाई पुनः ब्युँताउने मुख्यमन्त्री कार्कीले घोषणा गरे । उनले भने, ‘हिजोआज विद्यालयका विद्यार्थीहरू नै सडक बन्द गर्ने, प्रहरीमाथि आक्रमण गर्ने र सरकारी संरचना तोडफोड गर्ने जस्ता गतिविधिमा संलग्न भएको देखिनु दुःखद हो । यसलाई रोक्न र विद्यार्थीलाई नैतिकवान बनाउन हामी स्थानीय तहसँगको सहकार्यमा आगामी आर्थिक वर्षबाट कानुन नै बनाएर ‘म अघि बढ्छु’ अभियानलाई दिगो रूपमा सञ्चालन गर्नेछौं ।’

मुख्यमन्त्री कार्कीले विद्यार्थीहरूले बालविवाह र महिला हिंसा विरुद्ध प्रस्तुत गरेको सडक नाटकको प्रशंसा गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताए ।

कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले कानुनले मात्र हिंसा अन्त्य नहुने भन्दै घर–घरबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

रंगेली नगरपालिकाका प्रमुख दिलीप अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रंगेली नगरपालिकाका उपप्रमुख भूमाकुमारी पराजुली, लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी पोखरेल निरौला, र गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष विष्णु शर्मा पन्त लगायतले मन्तव्य व्यक्त गरे । उनीहरुले समाजमा छोरा र छोरीबीच हुने विभेद अन्त्य नभएसम्म समतामूलक समाज निर्माण नहुने बताए ।

मेलामा रंगेली नगरपालिका भित्रका १३ वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालय तथा विभिन्न स्वास्थ्य संस्थाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न स्टलहरू राखेर स्वास्थ्य सचेतना र विज्ञान प्रदर्शनी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।