लोड हुँदैछ...

मेनु

ताप्लेजुङको भञ्ज्याङ बजारमा भएको आगलागीमा ५० लाखको क्षति

ताप्लेजुङको भञ्ज्याङ बजारमा भएको आगलागीमा ५० लाखको क्षति

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ स्थित भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर ठूलो आगलागी हुँदा करिब ५० लाख रुपैयाँबराबरको क्षति भएको छ।

शुक्रबार अपरान्ह स्थानीय ३५ वर्षीय डेनी तामाङको पाँचतले पक्की घरमा भएको आगलागीमा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।

घरको सिरानको तलाबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले टिनको छाना, काठपात, मेसिनरी सामग्री, ल्याप्टप, कम्प्युटरलगायतका सामान जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमानअनुसार क्षति करिब ५० लाख रुपैयाँको भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिए ।

आगो स्थानीय र सुरक्षाकर्मीको प्रयासमा नियन्त्रणमा लिइएको थियो। आगो झन् फैलिन नदिन छिमेकका घरका जस्तापाता समेत निकालिएको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गर्न थुम्बेदिन, सिनाम र खाम्दिम्बे प्रहरी चौकीका गरी ११ जना प्रहरी परिचालित भएका थिए।

प्रहरी र स्थानीयको सक्रियतामा आगो अन्य घरमा सर्न नदिई पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।