विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सामान्य नाकको शल्यक्रिया गर्दा चिकित्सकको लापरबाहीले ७ वर्षीय बालकले आँखाको ज्योति गुमाएको घटनामा सरकारले चासो देखाएको छ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङको आग्रहमा मन्त्रालयले वीर अस्पतालका नाक, कान, घाँटी रोग ९इएनटी० विभागीय प्रमुख डा. अनिता जिसीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो। समितिमा कोशी अस्पतालका विशेषज्ञ डा. वरुन देव र मोरङ प्रशासनका अधिकृत रामप्रसाद लुईटेल सदस्य छन्। शुक्रबारदेखि नै काम थालेको यो टोलीले अस्पताल पुगेर बिरामीको ‘केस हिस्ट्री’, शल्यक्रियामा संलग्न चिकित्सकको विवरण र अन्य कागजात नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। समितिलाई प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ।
के हो घटना ?
सुनसरीको इटहरी–१ का ७ वर्षीय बालक जेनिस पाठकको नाकमा मासु पलाएपछि ४ मंसिरमा अभिभावकले नोबेलमा भर्ना गरेका थिए। ५ मंसिरमा शल्यक्रिया भयो, तर अस्पतालले भोलिपल्टै हतारमा डिस्चार्ज गरिदियो। घर पुगेपछि बालकले आँखा नदेख्ने बताएपछि परिवारले उनलाई विराटनगर आँखा अस्पताल पुर्याएका थिए।
त्यहाँ परीक्षण गर्दा नोबेलका चिकित्सकले नाकको शल्यक्रिया गर्ने क्रममा भित्री हड्डी निकालेर आँखाको नसा ९अप्टिक नर्भ० नै ‘ड्यामेज’ गरिदिएको पुष्टि भयो। आँखा अस्पतालले ज्योति फर्कने सम्भावना नरहेको बताएपछि पीडित परिवार छाँगाबाट खसेजस्तै भएको छ। चिकित्सकले गल्ती ढाकछोप गर्न खोजेको र सामान्य समस्या मात्र भएको भन्दै गुमराहमा राखेको आफन्तको आरोप छ।
घटनापछि आक्रोशित अभिभावकले मोरङ प्रशासनमा उजुरी दिएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले घटना संवेदनशील भएकाले मन्त्रालयबाटै विशेषज्ञ टोली झिकाई छानबिन थालिएको बताए। समितिले दोषी औंल्याएमा नेपाल मेडिकल काउन्सिलमार्फत चिकित्सकको लाइसेन्स खारेजीसम्मको कारबाही सिफारिस गरिनेछ। काँग्रेस सांसद डा. सुनिल शर्माको स्वामित्वमा रहेको यो अस्पतालमा उपचारमा लापरबाही भएको गुनासो बारम्बार आउने गरेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।