विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र राईले नेकपा एमालेको आगामी महाधिवेशनलगत्तै ‘१० भाइ’ भनेर चिनिने १० बुँदे पक्षधर नेताहरू आफ्नो पार्टीमा समाहित हुने दाबी गरेका छन्।
पार्टीको संगठन विस्तार र कोशी प्रदेशमा हुने सन्देश सभाको तयारीमा जुटेका राईले एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे पक्षधर नेताहरूलाई किनारा लगाउने निश्चित भएको जिकिर गर्दै उनीहरू ढिलोचाँडो नेकपामा आउने बताएका हुन् ।
‘एमालेमा रहेका १० बुँदे पक्षधर वा १० भाइ भनिने साथीहरूसँग हाम्रो कुराकानी भइरहेको छ,’ राईले भने, ‘केपी ओलीले विगतमा जस्तो स्वच्छ प्रतिस्पर्धाको वातावरण दिने देखिँदैन। प्रतिनिधि छनोटदेखि नै धाँधली र षड्यन्त्र सुरु भइसकेको छ।’ नेता राईका अनुसार नेकपाको वार्ता टोलीले एमालेभित्र असन्तुष्ट रहेका ती नेताहरूसँग औपचारिक छलफल गरेको छ। एमाले विभाजनका बेला माधव नेपालको साथ छाडेर एमालेमै बसेका ती नेताहरू अहिले ओलीसँग आजित भएको उनको दाबी छ।
‘उहाँहरूले हामी महाधिवेशनको सामना गर्छौं, यदि त्यहाँ ओली पक्षलाई परास्त गर्न सकेनौं वा पेल्ने काम भयो भने हामी समूहगत रूपमै तपाईंहरूसँग आउँछौं भन्नुभएको छ,’ राईले भने , ‘अहिले सार्वजनिक भाषणमै नाम किटेर ती नेताहरूको आलोचना गर्न थाल्नुभएको छ। अपमानित भएर बस्नुभन्दा उहाँहरू फर्किने सम्भावना प्रबल छ।’
उनले एमालेमा विद्या भण्डारीको सदस्यता नवीकरणदेखि प्रतिनिधि छनोटको शैलीले ओलीले फरक मत राख्नेलाई पेलेरै जाने प्रष्ट पारेको बताए।
यसैबीच, कोशी प्रदेशमा यही १५ गते हुने नेकपाको सन्देश सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहितका शीर्ष नेताहरू आउने निश्चित भइसकेको जानकारी दिँदै राईले भने, ‘भीम रावल पनि आउने कुरा छ। झलनाथ खनाल उपचारका क्रममा भारतमा हुनुभएकाले टुंगो लागेको छैन।’
कोशी प्रदेशमा पद बाँडफाँडमा खासै समस्या नरहेको र १५ गते शीर्ष नेताहरूले प्रदेशको नेतृत्व टुंगो लगाउने आशा गरिएको उनले बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।