इटहरी । जेनजी आन्दोलनको नाममा सुनसरीको धरान–इटहरी क्षेत्रमा भएका तोडफोड, आगजनी र लुटपाटजस्ता आपराधिक घटनामा संलग्नमाथि सुनसरी प्रशासनले कारबाही थालेको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले अपराधमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउने गरि कार्वाही थालिएको बताएका छन् ।
प्रहरीले इटहरीस्थित प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न पाँच जनालाई पक्राउ गरिसकेको छ भने धरान तथा जिल्लाका अन्य घटनाका अभियुक्तका सम्बन्धमा प्रमाण संकलन गरि कार्वाही थालिएको छ । प्रजिअ घिमिरेले आन्दोलन र आपराधिक क्रियाकलापबीच स्पष्ट फरक छुट्याइने उल्लेख गर्दै आन्दोलनका नाममा तोडफोड, आगजनी र लुटपाट गर्नेले छुट नपाउने बताए ।
आन्दोलन, हुलमुल र मुठभेठको सिलसिलामा व्यक्ति वा सार्वज्निक सम्पत्ति क्षति पुर्याउनेले कानुनबाट उन्मुक्ति वा छुटकारा नपाउने घिमिरेले बताए । सुनसरीका उद्योगी व्यवसायीसँगकोक भेटमा उनले भने, ‘आन्दोलन र अपराधिक क्रियाकलापहरुलाई प्रष्ट छुट्याएर आन्दोलनलाई आन्दोलनकै रुपमा हेरिेन्छ । अपराधिक घटनासँग सम्बन्धित व्यक्तिलाई कानुनी कारबाही गरिन्छ ।’
प्रजिअ घिमिरले भदौ २३ र २४ गतेको घटनाले प्रशासन र सुरक्षामा मनोवैज्ञानिक असर पारेपनि समग्र सुरक्षा अवस्था सामान्य रहेको बताएका छन् । सिडिओ घिमिरेले आगामी फागुन २१ गते हुने निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सहयोगको लागि नागरिकलाई अपील गरेका छन् । जेनजी आन्दोलनले उठाएको सुशासन, जवाफदेहिता, पारदर्शिता जस्ता सवालहरु जायज भएपनि आजगनी, तोडफोडबाट भएको क्षति विर्सनलायक रहेको प्रजिअ घिमिरेको भनाई थियो ।
गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न पाँच जनालाई प्रहरीले भिडियो तथा अन्य प्रमाणका आधारमा पहिचान गरी बुधबार नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमध्ये इटहरी उपमहानगर–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङ्पाङ–७ का ४७ वर्षीय मदन खत्री, इटहरी–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की, इटहरी–८ का २४ वर्षीय आभास कार्की र इटहरी–४ का २४ वर्षीय सोनम कार्की छन् ।
पक्राउ परेकामाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी पनि जारी छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!