काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन विपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री कञ्चन बिच्छालाई कारबाही गर्ने भएको छ । आज (बिहीबार) बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई कारबाही गर्ने निर्णय लिने बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकको प्रमुख एजेण्डामा अनुशासनहीन काम गरेको भन्दै मन्त्री बिच्छालाई कारबाही गर्ने विषय रहेको छ ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अनुशासन समितिले बिच्छालाई कारबाही गर्न सिफारिस गरिसकेको छ । ‘अनुशासन समितिले सिफारिस गरिसकेको छ, केन्द्रीय कार्यसमिति या कार्यसम्पादन समितिले कारबाही गर्ने विधान छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘सिफारिस भइसकेकाले आजको बैठकबाट उहाँमाथि कारबाही हुन्छ ।’
कात्तिक २३ गते पार्टीको आधिकारिक निर्णयविना नै महोत्तरीको एक होटलमा एमाले नेतृत्वको सरकारमा सहभागी हुँदै बिच्छाले मुख्यमन्त्री सरोजकुमार यादवसँग विनाविभागीय मन्त्रीको शपथ लिएकी थिइन् । शपथ लगत्तै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए ।
तर, अध्यक्षको निर्देशनलाई बेवास्ता गर्दै उनी सरकारमै रहिन् । अनुशासन समितिले सोधेको स्पष्टीकरणपछि पनि उनी पछि हटिनन् । बरु, मुख्यमन्त्री यादवले मङ्सिर ८ गते उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् । मङ्सिर २२ गतेभित्र प्रदेश सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा रहेको छ ।
मन्त्री बिच्छालाई कारबाही गर्ने बाहेक आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको भावी रणनीति निर्माणबारे पनि छलफल हुनेछ ।
प्रवक्ता श्रेष्ठका अनुसार आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने र सम्भावित निर्वाचनमा पार्टीको भूमिकाबारे पनि बैठकमा छलफल हुनेछ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!