विराटनगर । नेपाल हक्की संघ कोशी प्रदेशको अध्यक्षमा जीवनराज तिम्सिना निर्वाचित भएका छन् ।
विराटनगरमा शनिबार सम्पन्न संघको अधिवेशनले तिम्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष तिम्सिना यसअघि संघको कोशी प्रदेश तदर्थ समितिको अध्यक्षका रूपमा कार्यरत थिए । हक्की खेलका पूर्वचर्चित खेलाडी समेत रहेका उनी व्यावसायिक क्षेत्रमा पनि सक्रिय छन् । तिम्सिना हाल अन्तर्राष्ट्रिय औद्योगिक प्रतिष्ठान आरती स्ट्रिप्स प्रा.लि.मा उप–महाप्रबन्धकको जिम्मेवारीमा छन् ।
अधिवेशनले कार्यसमितिको उपाध्यक्षद्वयमा पारस थापा र प्रवेश तावा लिम्बूलाई चयन गरेको छ । त्यसैगरी, सचिवमा विधाकुमार पोखरेल र कोषाध्यक्षमा बुनु ढुंगेल निर्वाचित भएका छन् ।
संघको सदस्यहरूमा मेघराज सिग्देल, देवेन्द्रराज पोखरेल, नेत्र तामाङ, सर्वेश पोखरेल, प्रह्लाद थापा मगर र खगेन्द्र ढुंगाना रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष तिम्सिनाको अध्यक्षतामा शनिबार नै बसेको कार्यसमितिको पहिलो बैठकले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली कोशी प्रदेश खेलकुद विकास बोर्डलाई आधिकारिक रूपमा जानकारी गराउने निर्णय गरेको छ । कोशी प्रदेशमा हक्की खेलको व्यावसायिक विकास र विस्तारका लागि नयाँ कार्यसमितिले थप योजनाहरू अघि सार्ने बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।