भूमिहीन श्रमिकलाई छोराको उपचार गर्नै सकस

भूमिहीन श्रमिकलाई छोराको उपचार गर्नै सकस

विराटनगर । जाडो याम सुरु भएसँगै मोरङको कटहरी गाउँपालिका–४, नयाँबजारका ७ वर्षीय बालक प्रेम कामतको पेट अस्वाभाविक रूपमा फुल्न थाल्छ । मिर्गौलाको समस्याका कारण पिसाब थैलीमा जम्मा हुने र बाहिर ननिस्कने जटिलताले उनको पेट बढ्दै गएको हो । तर, छोराको यो पीडामा मलम लगाउन बुवा शिवनारायण र आमा धनवन्तीसँग अब न पैसा छ, न त ऋण पत्याउने कुनै आधार ।

भूमिहीन (सुकुम्बासी) परिवारका शिवनारायणका कान्छा छोरा प्रेम विगत चार वर्षदेखि यो समस्यासँग जुधिरहेका छन् । स्थानीय विराटनगरका नोबेल र विराट टिचिङ अस्पतालदेखि काठमाडौँको कान्ति बाल अस्पतालसम्म धाउँदा परिवारले पाँच लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।

बाबु शिवनारायणका अनुसार अस्पतालमा डाक्टरले क्याथेटर लगाएर पिसाब निकालिदिएपछि केही समय प्रेमलाई राहत मिल्छ । तर, चिसो मौसम सुरु हुनासाथ समस्या बल्झिहाल्छ । यसपटक पनि कात्तिकको छठ पर्वदेखि प्रेमको पेट अचानक बढ्न थालेको हो ।

स्थानीय अस्पतालका चिकित्सकले थप उपचारका लागि पुनः काठमाडौँस्थित कान्ति बाल अस्पताल लैजान सुझाव दिएका छन् । तर, दैनिक मजदुरी गरेर छाक टार्ने शिवनारायणको परिवार यतिबेला ठुलो आर्थिक सङ्कटमा छ र छोरालाई उपचार गराउन लैजाने आँट उनीहरुसँग छैन ।

‘फेरि उपचार गराउन कान्ति बाल अस्पताल नै लानुपर्छ, यहाँ उपचार सम्भव छैन भनेर डाक्टरले भनेका छन्,’ भावुक हुँदै बाबु शिवनारायणले भने, ‘सुकुम्बासी भए पनि ऋण खोजेर अहिलेसम्म पाँच लाख बढी खर्च गरिसक्यौँ । अब त न आफन्तले ऋण पत्याउँछन्, न बैंकमा धितो राख्ने जग्गा नै छ । अब छोराको उपचार कसरी गर्ने होला ?’

यो रोगले प्रेमको शारीरिक स्वास्थ्य मात्र होइन, भविष्य पनि अन्धकारमय बनाएको छ । यो समस्याबाट प्रेमको स्वास्थ्य समस्या समाधानसँगै होइन सिंगो परिवार नै अन्यौल र बेचैनीमा परेको छ । पेट बढ्ने र पिसाब रोकिने समस्याकै कारण उनी विद्यालय जान पनि सकिरहेका छैनन् ।

शिवनारायणको पीडा यतिमा मात्र सीमित छैन । उनका १० वर्षीय जेठा छोरामा पनि टाउकोको कपाल खुइलिने समस्या देखिएको छ । तर, कान्छा छोराको ज्यानै जोखिममा पर्ने अवस्था आएपछि परिवारको सम्पूर्ण ध्यान र चिन्ता यतिबेला प्रेमको उपचार खर्च कसरी जुटाउने भन्नेमै केन्द्रित भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्