कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको सरुवा

कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको सरुवा

विराटनगर । सरकारले कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कोशी प्रदेशबाट तानेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।

यो सरुवासँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो इतिहासमा पहिलो पटक महिला प्रशासनिक नेतृत्व पाएको छ। मन्त्रालय स्थापना भएयता ४० जना सचिवहरूले नेतृत्व गरिसकेकोमा पौडेल ४१ औँ सचिवका रूपमा नियुक्त भएकी हुन् । उनी यस मन्त्रालयको जिम्मेवारी सम्हाल्ने प्रथम महिला सचिव समेत बनेकी छन्। उनी गत वैशाखमा मात्रै सह –सचिवबाट सचिवमा बढुवा भएकी थिइन्।

मन्त्रिपरिषद्ले कोशीकी प्रमुख सचिव पौडेलसहित अन्य तीन विशिष्ट श्रेणीका कर्मचारी (सचिव) को पनि जिम्मेवारी हेरफेर गरेको छ।
सरकारले संघीय मामिला मन्त्रालयमा कार्यरत सचिव रवीलाल पन्थीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ। पन्थीको सरुवा भएसँगै रिक्त भएको स्थानमा कोशीबाट पौडेललाई ल्याइएको हो। यस्तै, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ।

भूमि व्यवस्था मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। तत्कालीन रक्षा सचिव सुमनराज अर्याल मुख्य सचिवमा नियुक्त भएपछि रक्षा मन्त्रालयमा सचिव पद रिक्त थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्