विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंबाट लुटिएको प्रहरीको हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना झापाका र एक जना इलामका छन् ।
लागूऔषध कारोबारीको गिरोह खोजी गर्ने क्रममा प्रहरी टोलीले लुटिएको २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी दिपक पोखरेलले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुरुमा रानीपोखरी प्रहरी कार्यालयबाट हतियार लुट्नेमध्येका दमक नगरपालिका–८ का २५ वर्षीय सरोज पुरी पक्राउ परेका थिए । दमक बस्ने उनी जेनजी आन्दोलन हुँदा काठमाडौं पुगेका थिए । पुरीले गत भदौ २४ गतेको जेनजी आन्दोलनमा काठमाडौंस्थित महानगरीय प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको मौकामा हतियार लुटेर भागेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय दमक र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले दमक–८ स्थित एभरेस्ट बोर्डिङ स्कुल छेउबाट सोमबार राति पुरीलार्ई पक्राउ गरेको थियो । लागुऔषध कारोबारी खोज्ने क्रममा पक्राउ परेका उनको साथबाट प्रहरीले प्रयोग गर्ने पेस्तोल बरामद भएको थियो ।
पुरीको कोठामा रानीपोखरीबाट लुटिएको टाइप–५४ नामको पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भयो । सोधपुछका क्रममा उनले एउटा पेस्तोल र गोली दमक–६ प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनलाई दिएको बताएका थिए ।
विश्व नेपाली कांग्रेसका महासमिति सदस्य विश्वदीप लिङ्देनका छोरा हुन् । पुरीको बयानका आधारमा प्रहरीले २९ वर्षीय लिङ्देनलाई घरबाटै पक्राउ गरेपछि उनले सो हतियार इलाममा बेचेको खुलेको थियो ।
लिङ्देनको बयानका आधारमा सोमबार प्रहरीले इलामको चुलाचुली गाउँपालिका–४ आइतबारेबाट ३० वर्षीय पवन हाङसुङ्वालाई पक्राउ गरेको छ । उनले २० हजार रुपैयाँमा पेस्तोल किनेर बारीमा लुकाएको बयान दिएका थिए । रातो प्लास्टिकको झोलामा बेरेर राखेको अवस्थामा ५ राउण्ड गोली लोड गरिएको चाइनिज टाइप–५४ पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जना लागुऔषध कारोबारी भएको आशंका प्रहरीको छ । बरामद दुवै पेस्तोल, २० राउण्ड गोली र तीनै जनालाई थप कारबाही अघि बढाउन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।