आज विवाह पञ्चमी, जनकपुरधाममा राम र सीताको विवाह उत्सव मनाइदै

आज विवाह पञ्चमी, जनकपुरधाममा राम र सीताको विवाह उत्सव मनाइदै

जनकपुर । जनकप्रधाममा आज विवाह पञ्चमी महोत्सव भव्यतापूर्वक मनाइदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा यो पर्व देशभर मनाउने प्रचलन छ ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक गरिन्छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेपछि यस दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिने हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

श्रद्धालु भक्तजन बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्