विराटनगर । नेपाली कम्युनिष्ट पार्टी, मोरङले आगामी मंसिर १५ गते विराटनगरमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको मोरङ जिल्ला समितिको आइतबार सम्पन्न बैठकले पार्टी एकताको सन्देश दिनका लागि जिल्लाभरका कार्यकर्ता र शुभचिन्तकहरूलाई विराटनगरमा भेला गराउने निर्णय गरेको हो ।
विजय कुमार विश्वासको अध्यक्षता र केन्द्रीय आयोजक समिति सदस्य हरिबोल गजुरेलको उपस्थितिमा बसेको बैठकले सभाको तयारीका लागि मातहतका कमिटीहरूलाई परिपत्र जारी गरिएको छ ।
पार्टीले जिल्लाका १७ वटै स्थानीय तहबाट सभामा सहभागी हुनेहरूको संख्या (कोटा) नै तोकेर परिपत्र जारी गरेको छ । जारी परिपत्र अनुसार विराटनगरमा हुने सभामा सबैभन्दा धेरै विराटनगर महानगरपालिकाबाट १ हजार ५०० जना सहभागी गराउनुपर्नेछ । यसैगरी, बुढीगंगा र ग्रामथान गाउँपालिकाबाट पाँच÷पाँच सय जना, कटहरीबाट चार सय जना, सुन्दरहरैँचा, बेलबारी र कानेपोखरीबाट तीन÷तीन सय जना अनिवार्य उपस्थित गराउन निर्देशन दिइएको छ ।
अन्य पालिकाहरू (जहदा, धनपालथान, पथरीशनिश्चरे, सुनवर्षी, रतुवामाई, केराबारी) बाट दुई÷दुई सय जना तथा लेटाङबाट एक सय र मिक्लाजुङ तथा रंगेलीबाट एक सय ५० जनाको दरले सहभागिता सुनिश्चित गर्न निर्देशन दिइएको छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन र तोकिएको जनसहभागिता जुटाउनका लागि मोरङ जिल्ला अन्तर्गत कार्यरत केन्द्र तथा प्रदेश तहका नेताहरूलाई पालिका कमाण्डरको जिम्मेवारी तोकिएको छ । एकता सन्देश सभाको पूर्वतयारीका लागि मंसिर १० गते तोकिएका कमान्डरहरूको उपस्थितिमा प्रत्येक पालिकामा अनिवार्य बैठक बस्नसमेत पार्टीले निर्देशन दिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।