लोड हुँदैछ...

मेनु

झापा र सुनसरीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा र सुनसरीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

विराटनगर । भारतबाट हुने अवैध लागूऔषध तस्करी रोकथाममा कडाइ बढाएसँगै प्रहरीको सक्रियतामा झापा र सुनसरीमा तीन जना पक्राउ परेका छन् ।

उनीहरूबाट ब्राउन सुगर (खैरो हेरोइन)सहित विभिन्न प्रमाण बरामद गरिएको प्रहरीले जनाएको छ ।

झापामा अर्जुनधारा नगरपालिका–२ खुदुनावारीका विरबहादुर कुमाल आइतबार साँझ मेचीपुल नजिक पैदल यात्रा गर्दै आउँदा शंकास्पद व्यवहारका आधारमा चेकजाँच गरिँदै गर्दा पक्राउ परेका हुन् । उनले प्लास्टिकको पोकोमा तयार पारेको ब्राउन सुगर मलद्वारमा लुकाएर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कुमालको साथबाट ६ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरिएको छ । उनलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएर थप कानूनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ ।

यस्तै, सुनसरीमा आइतबार दिउँसो दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ। सप्तरीको राजगढ गाउँपालिका–३ का २९ वर्षीय दिलिपकुमार मण्डल र हनुमाननगर कंकालिनी–६ का २३ वर्षीय शिवदत्त मण्डललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा नगरपालिका–४ स्थित पूर्व बसपार्क नजिक पक्राउ गरिएको हो ।

विशेष सूचनाका आधारमा लागूपदार्थ नियन्त्रण ब्युरो विराटनगर र सुनसरी प्रहरीले संयुक्त रूपमा छापा मारेको थियो । पक्राउ परेका दिलिपकुमार मण्डलको साथबाट प्लास्टिकमा प्याक गरी राखिएको २०२ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। उनीहरू दुवैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर लागूपदार्थ ऐनअन्तर्गत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल सीमा क्षेत्रमा निगरानी कडा बनाइएपछि भारतबाट नेपाल भित्र्याउन खोजिने ब्राउन सुगर तथा अन्य प्रतिबन्धित लागूऔषधसहित पक्राउ पर्नेको संख्या बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।