ताप्लेजुङ । वर्षासँगै अवरुद्ध भएको फुङलिङ–ओलाङचुङगोला टिपताला भञ्ज्याङ सडक खण्ड मर्मत भएपछि यातायातका साधन ओलाङचुङगोला बस्तीसम्म पुगेका छन् ।
सुपर तमोर हाइड्रोपावर कम्पनीको सहयोगमा सुकेपानीदेखि ओलाङचुङगोला सडक सफा गरिएपछि आइतबार दुई मोटरसाइकल र एक ट्याक्टर बस्तीमा प्रवेश गरेको हो ।
फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार सुकेपानी र जोङिगन क्षेत्रमा तमोर नदीको बहाव धेरै रहेकाले साना सवारीसाधन पार गर्न कठिनाइ छ । पानीको बहाव घटेपछि झन्डै १८ दिनभित्र ह्युम पाइप राखेर चार पाङ्ग्रे सवारी पार गर्ने व्यवस्था मिलाउने तयारी छ ।
गत वर्ष चीनको डिङजे काउण्टीबाट प्राप्त ह्युम पाइप बर्खा लागेपछि खोलाबाट निकालेर राखिएको थियो । त्यसमा केही क्षति भए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको वडाध्यक्ष लामाको भनाइ छ।
ओलाङचुङगोलादेखि नेपाल–चीन सीमा टिपताला भञ्ज्याङसम्मको सडक पनि सफा गर्ने प्रयास भइरहेको छ । उत्तर–दक्षिण लोकमार्ग ओलाङचुङगोला सडक कार्यालयका अनुसार हिमपात बढ्ने समय भएकाले हिउँको अवस्थालाई हेरेर मर्मतको काम अगाडि बढाइनेछ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।