विराटनगर । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय पछिल्लो तीन महिनादेखि नेतृत्वको व्यक्तिगत टकरावका कारण बन्धक बनेको छ । मन्त्री खगेनसिंह हाङ्गाम र सचिव डा. शरणकुमार पाण्डेबीचको ‘इगो’को लडाइँले मन्त्रालयको सम्पूर्ण काम ठप्प भएको छ ।
विवादको जड गत भदौ १६ गते मन्त्री हाङ्गामले आफ्नो सचिवालयमार्फत सचिव पाण्डेले प्रयोग गरिरहेको सरकारी गाडीको चाबी खोस्न लगाएपछि सुरु भएको थियो । यो घटनापछि सचिव पाण्डे मन्त्रालयमा हाजिर भएका छैन्न । मन्त्रालय स्रोतका अनुसार, विवादको पछाडि मन्त्री हाङ्गामका केही अपारदर्शी र नियमविपरीतका निर्णयहरू छन् । मन्त्रीले करारमा रहेका पुराना चालकलाई हटाएर आफ्ना निकट व्यक्तिहरूलाई नियुक्ति दिन खोजेका थिए । सचिव पाण्डेले अस्वीकार गरेपछि उनीहरु विच समबन्ध चिसो हुँदै गएको थियो । यसका साथै, मन्त्रीको सचिवालयका कर्मचारीहरूको भ्रमण भत्ता नियमविपरीत तत्काल भुक्तानी दिनुपर्ने दबाबलाई पनि सचिवले नमान्दा मन्त्री ‘एक्सन’मा उत्रिएका थिए ।
सचिवको अनुपस्थितिमा मन्त्रालयको काम चलाउन वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोख्रेल र वरिष्ठ पशु चिकित्सक दीपा दिवालीलाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ । तर, नेतृत्वको अस्थिरता र मन्त्री –सचिव द्वन्द्वको डरले निमित्त सचिवहरूले तलब भत्ताबाहेक अन्य महत्त्वपूर्ण निर्णय लिन सकेका छैनन् । प्रदेश सरकारले ‘जेनजी आन्दोलन’पछि २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरे पनि कुन कार्यक्रमको बजेट काट्ने भन्ने विषय सचिव नहुँदा टुङ्गो लाग्न सकेको छैन ।
सचिव पाण्डेले घटनालगत्तै मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश प्रमुख सचिवलाई जानकारी गराए पनि समस्या समाधानमा ठोस पहल हुन सकेको छैन । मुख्यमन्त्री कार्यालयले ‘समस्या छिट्टै समाधान हुने’ आश्वासन दिए पनि तीन महिनासम्म कुनै परिणाम देखिएको छैन ।
मन्त्री हाङ्गाम भने पटक –पटक विवादमा मुछिने गरेका छन् । यसअघि उनले नेकपा (एकीकृत समाजवादी)का प्रदेश सदस्य रक्की थेबेलाई मुक्का प्रहार गरेका थिए । सांसद हुँदा ताप्लेजुङका तत्कालीन डीएसपी राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएको र प्रहरीको हतियार खोसेको आरोपसमेत उनीमाथि लागेको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।