विराटनगर । विराटनगरमा नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा बेलुनभित्र मसी भरेर प्रहार गर्ने दुई युवक नेपाली कांग्रेसका क्रियाशील सदस्य भएको खुलेको छ । विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकालमाथि उनीहरुले मसी प्रहार गरेका थिए ।
पक्राउ पर्नेमा विराटनगर –१ का २५ वर्षीय संजोग गौतम र विराटनगर’२ का १९ वर्षीय अर्पित कुँवर रहेका छन् । उनीहरु दुवै जना नेपाली कांग्रेस निकट रहेको पुष्टि भएको छ ।
संजोग गौतम गत स्थानीय निर्वाचनमा निर्वाचन परिचालन कमिटीका सचिव थिए । त्यसपछि उनले नगर सभापति दीपक चापागाईंको सचिवालयमा पनि काम गरेका थिए । पक्राउ परेका अर्का युवक अर्पित कुँवर पनि कांग्रेसका क्रियाशील सदस्य हुन् ।
नगरसभापति चापागाईंका अनुसार दुवै जना सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आएका थिए । तर, गत भदौ २३ र २४ गतेको ‘जेनजी’आन्दोलनपछि उनीहरु पार्टीको गतिविधिमा सक्रिय नरहेको सभापति चापागाईंले बताएका छन् ।
काठमाडौँबाट विराटनगर आएका नेता बस्नेत र ढकाल इटहरीमा आयोजित युवा संघको जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद कार्यक्रममा सहभागी हुन आउदै थिए । उनीहरु विमानस्थलबाट बाहिरिँदै गर्दा गेटबाहिर रहेका युवाहरुले मसी भरिएको बेलुन प्रहार गरेका थिए ।
बेलुन बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा लागेको थियो । नगरसभापति चापागाईंले बस्नेत चढेको गाडी आफ्नै भाइ पर्ने सुजल लामाको भएको बताउँदै घटना अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । घटनापछि प्रहरीले दुवै युवकलाई नियन्त्रणमा लिएको छ भने त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!