विराटनगर । झापामा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार एक पुरुषको मृत्यु भएको छ ।
गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा दिउँसो १२ः२० बजेतिर ताजपुरियाले खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने कोशिश गर्दा उनी आफैंलाई करेन्ट लागेको थियो । खोलाको दूरी ताजपुरियाको घरबाट करिब २०० मिटर उत्तर–पश्चिममा पर्छ।
ताजपुरियाले घरको २२० भोल्ट लाइनको तार खोला क्षेत्रमा जोडेर विद्युत प्रवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। करेन्ट लागेर खोला किनारमै ज्यान गुमाएको अवस्थामा देखेपछि उनकी पत्नी फूलकुमारीले तुरुन्तै स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरी टोली घटनास्थल पुगेपछि शव परीक्षण लगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।