लोड हुँदैछ...

मेनु

१५ वर्षपछि मानव बेचबिखन आरोपमा एक जना पक्राउ

१५ वर्षपछि मानव बेचबिखन आरोपमा एक जना पक्राउ

विराटनगर । मानव बेचबिखन मुद्दामा लामो समयदेखि फरार रहेकी प्रतिवादी मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५० वर्षीया बिना राई (लिम्बू) लाई प्रहरीले पक्राउ गरेको छ।

विगत १५ वर्षदेखि फरार रहेकी बिनालाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी नायब निरीक्षक गणेश दाहाल नेतृत्वको टोलीले बिहीबार राति घरबाटै पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी लामो समयदेखि लुकिछिपी बस्दै आएकी थिइन्।

बिनाविरुद्ध २०६७ साल असोज ५ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी परेको थियो। प्रतिवादी लामो समयदेखि फरार हुँदा कार्यान्वयनमा जान नसकेर जाहेरी वर्षौंदेखि अलपत्र परेको थियो।

बिनाले आकर्षक कमाइको लोभ देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै भारतको नयाँ दिल्लीको बाटो प्रयोग गरेर १ जना नेपाली महिलालाई साउदी अरब पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार ती महिलालाई वैदेशिक रोजगारीमा पठाउने र आकर्षक कमाइ हुने प्रलोभन देखाएर नयाँ दिल्ली हुँदै साउदी अरब पुर्याइएको थियो। पछि नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएर पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। आफूविरुद्ध जाहेरी परेको थाहा पाउनासाथ बिना फरार भइन्।
बिनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउन प्रहरीले शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ। उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ।

मुद्दा पुरानो भएपनि कानुनी रूपमा अझै निष्कर्षमा नपुगेको र प्रतिवादी पक्राउ भएसँगै अब बाँकी प्रक्रिया अघि बढ्ने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। प्रहरीका अनुसार साउदी पुगेपछि पीडितले अत्यधिक श्रमशोषण र दुर्व्यवहार सहनुपरेको थियो। नेपालमा साउदी अरबमा नेपाली महिलालाई पठाउनै पाइँदैन।
मानव बेचबिखन प्रमाणित भए १० देखि १५ वर्षसम्म कैद सजाय, आर्थिक जरिबाना र राज्यतर्फबाट कठोर कारबाही हुने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।