संखुवासभा । काेशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा रहेको तथ्यांक अन्तरराष्ट्रिय समन्वित पर्वत विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको छ।
नेपालका हिमनदी र हिमतालमा भइरहेको तीव्र परिवर्तनका कारण बढ्दो जोखिमबारे खाँदबारीमा शुक्रबार आयोजित अन्तरसंवाद कार्यक्रममा इसिमोडका शरदप्रसाद जोशीले २०२० को रिपोर्ट प्रस्तुत गर्दै जानकारी दिए।
जोशीका अनुसार नेपालका २ हजार ६९ हिमतालमध्ये कोशीमा मात्रै ४२ वटा अत्यन्तै जोखिमयुक्त अवस्थामा रहेका छन्। हिमताल फुटेमा ठूलो जनधन र पूर्वाधारमा विनाश निम्त्याउन सक्ने चेतावनी उनले दिए।
जोशीले संखुवासभामा भोटखोला क्षेत्रमा २ र मकालु क्षेत्रमा २ गरी ४ हिमताल उच्च जोखिममा रहेको बताए। तीमध्ये तल्लो वरुण क्षेत्रमा रहेको ठूलोपोखरी हिमताल सबैभन्दा धेरै जोखिमयुक्त देखिएको प्रस्तुतिमा उल्लेख गरिएको छ। करिब ३ किलोमिटर लम्बाइ र २ सय ६ मिटर गहिराइ भएको अनुमान गरिएकाे यस तालका वरपर पनि १५ देखि २५ मिटर सम्मको गहिराइ रहेको उनले बताए।
जोखिम बढ्दै गएपछि जल तथा मौसम विज्ञान विभाग र यूएनडीपी नेपालको सहकार्यमा ४ हिमतालका लागि जोखिम न्यूनीकरण योजना कार्यान्वयनमा अघि बढिरहेको उनले जानकारी दिएका छन्। तल्लो वरुणको ठूलोपोखरी पनि यही योजनामा समावेश गरिएको छ।
जोशीका अनुसार हिमताल फुटेमा अरुण उपत्यकाका धेरै बस्ती र संरचना उच्च जोखिममा पर्छन्। तिब्बततर्फको उत्तरी भेगमा पनि १३ वटा जोखिमयुक्त हिमताल रहेको जानकारी उनले दिए।
इसिमोडकी नीरा श्रेष्ठ प्रधानले विपदका बेला असक्त, महिला र बालबालिका बढी जोखिममा रहने भएकाले उनीहरूलाई लक्षित गरी चेतना अभिवृद्धि तथा क्षमता विकास कार्यक्रम चलाइएकाे बताइन्। जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले जोखिमयुक्त हिमताललाई सुरक्षित बनाउने दिगो उपाय तत्काल आवश्यक रहेको बताए।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालगायत सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा हिमताल व्यवस्थापनबारे विस्तृत छलफल भएको थियो।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!