विराटनगर । नेकपा एमालेको आसन्न महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेशका तीन प्रभावशाली नेताहरूले केन्द्रीय सचिव पदमा आकांक्षा देखाएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई र नेता विनोद ढकालबीच सचिव पदका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको हो । यो प्रतिस्पर्धाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो गृह प्रदेशमा सन्तुलन मिलाउन चुनौती थपिएको छ ।
मुख्यमन्त्री हिक्मत कार्कीले पछिल्लो समय पूर्वी पहाडी जिल्लाहरूमा आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । उनी आफ्नो दाबेदारीलाई बलियो बनाउन इलाम र धनकुटामा आयोजित पार्टीका विभिन्न कार्यक्रमहरूमा व्यस्त छन् । पार्टीभित्रका पहिचान पक्षधर नेताहरूसँग सम्बन्ध सुधार गर्न उनलाई केन्द्रीय सदस्य उषाकला राई लगायतका नेताहरूले सुझाव दिएको बताइन्छ । केही दिनअघि आफू निकट पत्रकारहरूसँगको भेटमा कार्कीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको स्रोतले बताएको छ । यद्यपि, उनका राजनीतिक सल्लाहकार रवि खनालले औपचारिक घोषणा नभए पनि स्थायी कमिटी सदस्यले माथिल्लो पदमा दाबी गर्नु स्वाभाविक भएको बताएका छन् ।
कार्कीका प्रमुख प्रतिस्पर्धीका रूपमा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा पार्टीका प्रदेश इन्चार्ज शेरधन राई देखिएका छन् । उनले पदाधिकारीमा आफ्नो उम्मेदवारी रहने निश्चित भएको बताएका छन् । ‘मैले नेतृत्वसँग कुरा गरेको छैन राईले भने, ‘कुन पद भन्ने टुङ्गो छैन, तर पदाधिकारीमा मेरो उम्मेदवारी हुन्छ ।’ राई र कार्की दुवै अध्यक्ष ओलीनिकट मानिन्छन्, जसले गर्दा १५ सदस्यीय पदाधिकारीमा दुवैलाई समेट्न ओलीलाई सकस पर्ने देखिन्छ । तर, पदाधिकारी संख्या बढाएर १८ पुर्याउने चर्चाले दुवैजना अट्न सक्ने सम्भावना पनि जीवितै छ ।
यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिने नेता विनोद ढकाल पनि सचिव पदका सशक्त दाबेदारका रूपमा उभिएका छन् । कुनै समय अध्यक्ष ओलीका विश्वासपात्र रहेका ढकाल, नेकपा विभाजनका बेला पार्टी नफुटाउन सुझाव दिएपछि ओलीसँग टाढिएको बताइन्छ । एमाले प्रदेश कमिटीको अध्यक्षको चुनावमा शेरधन राई र हिक्मत कार्कीनै लागेर ढकाललाई पराजित गरेका थिए । सोही पराजयको बदला ढकालले मोरङ जिल्ला अधिवेशनमा संस्थापन पक्षविरुद्ध अप्रत्याशित नतिजा निकालेर आफ्नो शक्तिको सन्देश दिएका थिए ।
भण्डारी पक्षधर नेताहरूले ढकाललाई ‘पूर्वको मियो’का रूपमा चर्चा गर्दै उनको उम्मेदवारीलाई बलियो बनाउन लागेका छन् । केन्द्रीय सदस्य युवराज बास्कोटाले सचिव पदका लागि ढकालको नाम पहिलो नम्बरमा आउने दाबी गरेका छन् । ‘विनोदजीको नाम सचिवमा पहिलो नम्बरमा रहन्छ, उहाँको पनि पार्टीमा ठूलो योगदान छ, नेता बास्कोटाले भने ।
कोशी प्रदेशबाटै उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराई, राजेन्द्र गौतम, भानुभक्त ढकाल, अग्नि खरेललगायत ८ नेताहरू पनि पदाधिकारीका आकांक्षी रहेकाले कोशी प्रदेशको राजनीति थप रोचक बनेको छ । अध्यक्ष ओलीले आफ्नो गृह प्रदेशका नेताहरूको व्यवस्थापन कसरी गर्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!