इटहरी । मापक पदार्थ सेवन गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कडाइ गरिरहेको प्रहरीले पछिल्लो समयमा लागुपदार्थ सेवन गर्नेमाथि पनि कडाइ थालेको छ ।
लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
प्रहरीले सुनसरीको तरहरा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
इटहरी उप–महानगरपालिका–२० तरहरा क्षेत्रमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका सबैलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाहीका लागि पेश गरिएको छ ।
सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद थप भई उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–८ का २२ वर्षीय रोहन विक, धरान ५ का ३० वर्षीय विनय बि.क., २७ वर्षीय विमल राई, इनरुवा नगरपालिका–९ का २३ वर्षीय अभिषेक चौधरी, दुहबी नगरपालिका–८ का २८ वर्षीय दिवश चौधरी, दमक नगरपालिका–१३ का ३९ वर्षीय अर्जुन पौदार, बवियाबिर्ता–७ का ४३ वर्षीय पञ्चलाल खवास, बेलबारी नगरपालिका–९ का ३२ वर्षीय रमेश चौधरी रहेका छन् ।
प्रहरीका अनुसार सवारी चालकहरूले लागूपदार्थ सेवन गरी सवारी सञ्चालन गर्दा जनधनको ठूलो जोखिम हुने भएकाले नियमित चेकजाँच र निगरानी कडा बनाइएको हो ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!