विराटनगर । सुनसरीको धरानबाट प्रहरीले २५ किलो गाँजा बरामद गरेको छ ।
प्रहरीले बुधबार राति गाँजा बरामद गरेको हो । शंकास्पद अवस्थामा रहेको को ११ प ४६३५ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा फरार भएपछि पछ्याउँदै गएको प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले धरान–तरहरा सिमानानजिकै पानीपियाबाट मोटरसाइकल नियन्त्रणमा लिएको हो । त्यसपछि, धरान उपमहानगरपालिका–६ पानबारी–सेउती भित्री सडक खण्डअन्तर्गत पानबारी सामुदायिक वन क्षेत्रमा फालिएको अवस्थामा प्लास्टिक र जेब्रा झोलामा प्याक गरिएको २५ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । चालक फरार भएका छन् । चालकको खोजी तीव्र बनाएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!