शंकास्पद चार बोलेरो ताप्लेजुङबाट प्रहरीको नियन्त्रणमा

शंकास्पद चार बोलेरो ताप्लेजुङबाट प्रहरीको नियन्त्रणमा

ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालनमा रहेका चार वटा बोलेरो जीप यातायात व्यवस्था कार्यालयको अभिलेखमा नदेखिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सवारी दर्ता किताबको विवरणमा मेल नखाएका चार वटा बोलेरो जीप नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फुङलिङ नगरपालिकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सवारी साधन थप अध्ययनका लागि ट्राफिक व्यवस्थापन कार्यालय इटहरी पठाइने छ । ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी सहायक निरीक्षक सुमन अधिकारीका अनुसार नियन्त्रणमा लिएका जीप अबैध भएको आशंका छ ।

ना १ ज १५८३ नम्बरको सवारी यातायात व्यवस्थापन कार्यालय वीरगन्ज पर्साको अभिलेखमा देखिँदैन भने को १ ज ११११ नम्बरको सवारी दर्ता किताबमा रहेको भएपनि किताबमा रहेको इन्जिन नम्बर र गाडीमा भएको इन्जिन मेल खाँदैन । यस्तै, ना ३ च ३९२८ को इन्जिन नम्बर यातायात व्यवस्थापन कार्यालयको अनुमति नलिई सञ्चालन गरेको पाइएको छ भने ना २ च ७२९५ नम्बरको बोलेरोको पनि इन्जिन नम्बर र रङ मेल नखाएकोले नियन्त्रणमा लिइएको हो ।

ती सवारी साधन दुर्गम क्षेत्रका ग्रामीण सडक र भीडभाडको समयमा ताप्लेजुङ ल्याएर चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लामा रहेका दुई पाङ्ग्रे सवारीमा पनि निगरानी बढाएको जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्