मोरङ कारागारमा थुनुवाको मृत्यु, १० हजार धरौटी तिर्न नसक्दा थुनामा थिए लिम्बू

मोरङ कारागारमा थुनुवाको मृत्यु, १० हजार धरौटी तिर्न नसक्दा थुनामा थिए लिम्बू

विराटनगर । जिल्ला कारागार मोरङमा अभद्र व्यवहार मुद्दामा थुनामा रहेका एक व्यक्तिको बुधबार बिहान मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–४ का ५७ वर्षीय गंगा लिम्बूको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको हो ।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार लिम्बूलाई जिल्ला प्रशासन कार्यालय मोरङले अभद्र व्यवहारको मुद्दामा १० हजार रुपैयाँ धरौटी माग गरेको थियो । तर, उक्त धरौटी रकम तिर्न नसकेपछि उनलाई गत साउन १४ गते कारागार चलान गरिएको थियो । उनको मुद्दा विचाराधीन अवस्थामै रहेको थियो ।

जेलर ढुंगेलले दिएको जानकारी अनुसार, लिम्बूलाई सास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने जस्ता स्वास्थ्य समस्या देखिएपछि मंगलबार राति करिब ८ बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा बुधबार बिहान १० बजेतिर मृत्यु भएको हो । ढुंगेलले लिम्बूलाई पहिलेदेखि नै स्वास्थ्यसम्बन्धी पुरानो समस्या रहेको बताए । मृतक लिम्बूको शव हाल कोशी अस्पतालमा राखिएको छ र घटनाबारे उनका आफन्तलाई जानकारी गराइसकिएको कारागार प्रशासनले जनाएको छ ।

पछिल्लो समय मोरङ कारागारमा कैदीबन्दीको मृत्यु हुने क्रम बढेको देखिन्छ । गत साउन महिना यता मात्रै कारागारमा ६ जना कैदीबन्दीको मृत्यु भइसकेको छ । यसअघि कात्तिक २५ गते मिक्लाजुङ गाउँपालिकाका ४२ वर्षीय ज्ञानबहादुर राईको पनि मृत्यु भएको थियो । क्षमताभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा स्वास्थ्य र सुरक्षालाई लिएर चिन्ता बढ्दै गएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्