एक सातादेखि बेपत्ता मञ्जुको शव खोल्सामा भेटियो

एक सातादेखि बेपत्ता मञ्जुको शव खोल्सामा भेटियो

इटहरी । सुनसरीको इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा फेला परेको छ ।

गत २४ कार्तिक बिहान साढे ८ बजे घरबाट निस्किएकी निरौला घर फिर्ता नआएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए ।

खोजीका क्रममा २७ कार्तिकमा धरान उपमहानगरपालिका–४, बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडीज स्विटर, कालो चप्पल, खैरो ब्याग र अन्य सामान फेला परेको थियो । मृतक पौडेलको शव मङ्गलवार दिउँसो अढाई बजे धरान–धनकुटा सडक छेउमा भेटिएको थियो । घोप्टो परेर मृत्यु भएको अवस्थामा भेटिएको शवबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम भूभागमा पर्छ । भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबीचको तालमेलले घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोस्टमार्टमका लागि पठाइसकेको छ । घटबारे विस्तृत अनुसन्धान सकिएपछि मात्र कारण यकिन हुने भन्दै प्रहरीले थप अनुसन्धान सुरु भएको जनाएको छ ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टिकाराम खत्रीको टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार मृत्युको वास्तविक कारण र घटनाको प्रकृति पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्