ताप्लेजुङमा थपिए चौध सय नयाँ मतदाता

ताप्लेजुङमा थपिए चौध सय नयाँ मतदाता

ताप्लेजुङ । असोज १० गतेदेखि सुरु भएको नयाँ मतदाता नामावली संकलनका कक्रममा ताप्लेजुङमा एक हजार चार सय बढीले नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका पछिल्लोपटक फोटोसहितको नयाँ मतदाता नामावली दर्ता गर्न थालेपछि उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।

निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलाल (विपिन)का अनुसार सोमबार सम्ममा ताप्लेजुङमा एक हजार ४६६ जना नयाँ मतदाता थप भए । थप भएका नयाँ मतदातामध्ये ८०९ जना पुरुष र ६५७ जना महिला रहेका दुलालले जानकारी दिए । उनका अनुसार यसअघिको निर्वाचनपछि र पछिल्लोपटक मतदाता नामावली दर्ता गर्न सुरु भएयता नयाँ थप भएकासमेत जिल्लामा मतदाताको सङ्ख्या कुल ९४ हजार ६९९ पुगेको छ ।

कुल मतदाता सङ्ख्यामध्ये ५० हजार ८८४ पुरुष र ४३ हजार ८१५ जना महिला रहेका दुलालले जानकारी दिए । मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये मतदान गर्न योग्य मतदाताको विवरण छुट्याउन भने बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।