विराटनगर । संखुवासभाको खाँदबारीमा खुकुरी देखाएर प्रहरीको हतियार खोस्न खोज्ने एक जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो खाँदबारी नगरपालिका १ बसपार्क क्षेत्रबाट खाँदबारी ६ घरभएका ३१ वर्षीय रुद्रबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले खुकुरी देखाएर प्रहरीमाथि हातपात गर्दै हतियार खोस्न खोजेपछि प्रहरीले तिघ्रामा गोली हानेर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मा जबरजस्ती करणी मुद्दामा ६ वर्ष सजाय भोगेर हालै कैदमुक्त भएका थिए ।
कारागारबाट निस्किएपछि पनि उनीविरुद्ध ६–७ वटा चोरीका उजुरी परेपछि पक्राउ गर्न खोज्दा हतियार खोस्ने प्रयाससँगै प्रहरीमाथि नै आक्रमण गरेपछि गोली चलाउनु परेको मैनालीले बताए । गोली प्रहारबाट घाइते भएका विश्वकर्माको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।
उनको अवस्था सामान्य रहेको र थप अनुसन्धान भइरहेको डीएसपी मैनालीले बताए । चोरी मुद्दामा विकलाई जिल्ला अदालत चैनपुरले २०७५ सालमा ७ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
जिल्ला कारागार खाँदबारीबाट उनलाई गत वैशाख ८ गते झुम्का कारागार स्थानान्तरण गरिएको थियो । सुनसरीको झुम्का कारागारबाट बाँकी कैद भुक्तान गरेर विक गत जेठ २४ गते छुटेका थिए ।
प्रहरीले विकको साथबाट आफूमाथि प्रहार गर्न खोजेको एउटा खुकुरीसमेत बरामद गरिएको जनाएको छ ।

