फार्मेसीबाट लागुऔषधको कारोबार गर्ने दम्पती पक्राउ

फार्मेसीबाट लागुऔषधको कारोबार गर्ने दम्पती पक्राउ

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित ‘नसिव फार्मेसी’बाट लागुऔषधको कारोबार गरेको पाइएपछि सञ्चालक पक्राउ परेका छन् ।

लागुऔषध कारोबार गर्ने फार्मेसीमा प्रहरीले आइतबार राति छापा मारेर सञ्चालककलाई पक्राउ गरेको हो ।

लागुऔषध बेचबिखन गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेर फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ । फार्मेसी सञ्चालक ५० वर्षीय नसिवनारायण चौधरी र उनकी पत्नी सम्झना चौधरीलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

लुकाइछिपाइ सिमन्टको बोरामा राखिएको लागुऔषध प्रहरी पुगेपछि सम्झनाले छतमाथिबाट बाहिर फालेकी थिइन् । नसिवलाई घरको आँगनबाटै र सम्झनालाई छतबाट लागुऔषध बाहिर फाल्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले फार्मेसीबाट १९ हजार ८ सय क्याप्सुल ट्रमाडोल र डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको छ । बोरा प्याक गरेर फाल्दै गरेको अवस्थामा ट्रमाडोल र शयनकक्षमा लुकाएर राखिएको डिकोलिक बरामद भएको जानकारी प्रहरीले दिएको छ ।

पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।