विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लामा कात्तिक २३ देखि घरपालुवा चौपायालाई लक्षित गर्दै खोरेत (एफएमडी) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।
अहिलेसम्म १ लाख ३६ हजार ७१५ डोज खोप लगाइसकिएको प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । यो वर्ष प्रदेशभर १२ लाख ९४ हजार खोप लगाउने लक्ष्य रहेको छ ।
यो वर्ष पहिलो डोज हाल लगाइँदैछ भने दोस्रो डोज आगामी बैशाख–जेठमा सञ्चालन हुनेछ । प्रदेश सरकारले इलामलाई खोरेतमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यअनुसार ‘नियन्त्रित क्षेत्र’ तथा छिमेकी जिल्लामा ‘बफर जोन’ बनाएर अभियान विस्तार गरिरहेको छ ।
खोप वितरणपछि केही चौपायामा ज्वरो, घाँस–पराल नखाने, कमजोरी, एकोहोरो हुने तथा गर्दन दुख्ने जस्ता प्रतिकूल लक्षण देखिएको छ । निर्देशनालयका वरिष्ठ अधिकृत डा.गंगाराम यादवका अनुसार कमजोर वा दुब्लो पशुमा एन्टिभाइरल खोप लगाएपछि ४८ घण्टासम्म यस्तो लक्षण देखिनसक्छ । त्यसलाई रुपमा स्वाभाविक लिइने उनको भनाइ छ ।
समुद्री सतहदेखि ४२ सय मिटर उचाइसम्मका दुर्गम क्षेत्रसम्म खोप पुर्याउन ताप्लेजुङमा ५४ भ्याक्सिनेटर खटाइएका छन् । यो वर्ष जिल्लामा २८ हजार ५ सय डोज उपलब्ध गराइएको छ । सबैभन्दा धेरै सिदिङ्वा गाउँपालिकाले ५ हजार डोज पाएको छ । मौसम चिसिँदै गएपछि कठिन भेगमा पुग्न चुनौती रहेकाले मंसिर २३ सम्म अभियान चलाइनेछ ।
ताप्लेजुङका किसान प्रमुख रूपमा पशुपालनमा निर्भर छन् । उच्च हिमाली क्षेत्रका किसानले पनि चौरी, याक, नाक, गाई–भैंसीलगायत पशुपालन गरेका छन् । पशु सेवा केन्द्र ताप्लेजुङका सूचना अधिकारी योगेन श्रेष्ठका अनुसार यसपटकको खोप गाई, भैंसी, याक र चौरीका लागि उपलब्ध गराइएको छ ।
सुनसरीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार शनिबारसम्म २१ हजार चौपायामा खोप लगाइएको छ । जिल्लामा १ लाख ८२ हजार पशुमा खोप लगाउने लक्ष्य छ ।
खोरेतलाई फुट एण्ड माउथ डिजिज (एफएमडी) भनिन्छ । दुई चिरा खुट्टा भएका पशु चौपायामा देखिने अत्यन्त छिटो सर्ने भाइरल रोग हो । ज्वरो आयने, मुख–खुट्टामा फोका निस्कने, खाना नखाने, घाउ हुने, कमजोरी तथा दूध कमी जस्ता असर यो रोग लागेका पशुमा देखिन्छ । बाछाबच्छीमा मृत्यु दर बढ्नसक्ने भएकाले सरकारले नियमित खोप अभियानलाई सर्वाधिक प्रभावकारी रोकथाम उपायका रूपमा अपनाइरहेको छ ।

