विर्तामोड । झापामा कुर्सीबाट लडेर एक जना ६ वर्षीय बालकको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका–२ गौरीशंकरमा खेल्ने क्रममा कुर्सीबाट लडेर ध्रुव राईका छोरा आयन राईको शनिवार साँझ मृत्यु भएको हो ।
कुर्सीबाट लडेर अचेत भएका उनलाई पिता ध्रुव राईले उनलाई तत्काल मेची प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । अस्पतालमा परीक्षण गर्दा चिकित्सकहरूले आयनको मृत्यु भइसकेको पुष्टि गरेका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट प्रहरी नायव निरीक्षक उत्तम कुमार कार्कीको नेतृत्वमा टोली खटाएको थियो। प्रारम्भिक अनुसन्धानसहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

