चिसो बढेसँगै खाली हुन थाले उच्च हिमाली बस्ती

चिसो बढेसँगै खाली हुन थाले उच्च हिमाली बस्ती

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित उच्च हिमाली बस्तीहरूमा चिसो बढ्दै जाँदा दैनिकी कठोर बन्दै गएको छ।

घाम ढिलोगरी लाग्ने, तापक्रम तीव्र रूपमा घट्ने र हिउँ पर्ने सम्भावना बढेपछि स्थानीयहरू क्रमशः बस्ती छाडेर तल्लो पहाडी क्षेत्रतर्फ झर्न थालेका छन्।

फक्ताङलुङ–६ लेलेप–घुन्सा क्षेत्रमा अवस्थित घुन्सा आधारभूत विद्यालय परिसरमा बिहान साढे १० बजेमात्रै घाम लाग्छ । डाँडाले घेरेको बस्तीमध्ये सबैभन्दा पहिला घाम पर्ने ठाउँ विद्यालय क्षेत्र भएकाले विद्यार्थी र शिक्षकले घाम लागेको बेलामा बाहिरै बसेर पढाइ सञ्चालन गर्छन् ।

समुद्री सतहबाट ३१ सय मिटर उचाइमा रहेको बस्तीमा चिसो तीव्र भएपछि तल्लो तहका ८ जना विद्यार्थीलाई विद्यालयले विदा गरिसकेको छ । उनीहरू न्यानो मौसम भएपछि मात्र विद्यालय फर्कनेछन् ।

उच्च कक्षाका विद्यार्थीका लागि भने मंसिर पहिलो सातादेखि अर्धवार्षिक परीक्षा तयारी जारी छ। चिसो सुरु भएसँगै बालबालिका छिट्टै बिरामी पर्ने, अभिभावक टाढा रहने र हेरचाह कठिन हुने भएकाले विद्यालयले समयअनुसार कक्षाकोठा सञ्चालन समायोजन गर्दै आएको छ।

चिसो बढेसँगै घुन्सा र फलेका गरी २४ जना विद्यार्थी मात्र विद्यालयमा अध्ययनरत छन् । त्यस क्षेत्रमा कञ्चनजंघा उत्तरी–दक्षिणी आधार शिविर जाने पर्यटकहरूको संख्या पनि घट्दै गएको छ। यात्रुहरू फाट्टफुट्ट मात्र भेटिन थालेको स्थानीयले बताएका छन् ।

घुन्सा आधारभूत विद्यालयका प्रधानाध्यापक सिंहबहादुर यादवका अनुसार बस्तीमा घाम ढिलो लाग्दा चिसो थेग्नै नसकिने अवस्था बनेको छ । त्यसैले मान्छेहरू बस्ती छाडेर चौपाया पनि खर्कतिर पुर्‍याउन थालेका छन् ।

घुन्साका डण्डु शेर्पाका अनुसार चिसो बढ्दै गएपछि स्थानीयहरू घरमा ताल्चा लगाएर औलातिर झर्न थाल्छन् । कतिपय ताप्लेजुङ, काठमाडौं तथा भारतको दार्जिलिङसम्म गएर बसेका छन्।

फक्ताङलुङ–७ याङ्माका ११ परिवारले जाडोयाममा बस्ती छाड्ने गरेका छन् । लेलेपको खम्बाछेन, घुन्सा, फले र मिक्वाखोला–५ पापुङको तोक्पेगोला पनि चिसो छल्न बेंसीतिर खाली हुन्छन् । ओलाङचुङगोलामा पनि हिउँदमा बसोबास पातलो हुने गरेको छ ।

पहिले मंसिरदेखि माघसम्म बस्ती खाली हुन्थ्यो । तर, अहिले हिउँ ढिलो परे मंसिर अन्तिमसम्म पनि बस्तीमा मानिस बस्ने गरेका छन् । चिसो कम नहुँदा र हिउँ पर्ने चक्र फेरिँदा फागुन अन्तिमतिर मात्र गाउँ फर्कने प्रचलन बढ्दै गएको छ ।

चिसोका कारण मंसिर अन्तिम सातादेखि माघसम्म विद्यालय विदा हुने गरेको छ । तर, चिसो असह्य भए अगाडि नै विदा हुने प्रअ यादवले बताए ।

ताप्लेजुङमा ४२ सय मिटर उचाइसम्म बस्ती रहेको छ। याङ्मा र खम्बाछेन उच्चतम हिमाली बस्ती मानिन्छन्। यी बस्तीहरूमा विद्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकी, सशस्त्र बेस क्याम्प र संरक्षण क्षेत्रका कार्यालय रहेका छन् ।

विद्यालय विदा भए पनि अन्य कार्यालयले जाडोयाममा दाउरा, न्यानो वस्त्र र आवासीय व्यवस्थासहित कठिन परिस्थितिमा काम गर्नैपर्छ। हिउँदमा त्यहाँ बसोबास अत्यन्त खर्चिलो र चुनौतीपूर्ण हुन्छ ।