पर्शुराम र अभिषेक मिलेकै हुन् ?

पर्शुराम र अभिषेक मिलेकै हुन् ?

विराटनगर । विराटनगरका परिचित व्यक्ति मनोज विक्रम शाहले कार्तिक २५ गते साँझ सामाजिक सञ्जालमा ‘आकस्मिक १६ वर्षपछि भएको मित्र मिलन साँच्चै फलदायी र सम्झनायोग्य भेटघाट रह्यो’ भन्दै केही तस्बिरहरु सार्वजनिक गरे ।

ति तस्बिरहरुमा कुनै बेला एकअर्काको ज्यानै लिनका लागि खुकुरी र गोली हानाहानसम्मको तितो इतिहास बोकेका विराटनगरका दुई विवादास्पद पात्र पर्शुराम बस्नेत र अभिषेक गिरीबीचको गलफत्तीको थियो । उनीहरुबीचको १६ वर्षे दुश्मनी एकाएक मित्रतामा परिणत भएको तस्बिर सार्वजनिक गरेसँगै विराटनगरको राजनीतिक र सामाजिक वृत्तमा भने शंसय र तरंग पैदा भएको छ ।

शाहले फेसबुकमा ‘आकस्मिक १६ वर्षपछि भएको मित्र मिलन साँच्चै फलदायी र सम्झनायोग्य भेटघाट रह्यो’ भनेपछि यो विषयलाई सुरक्षा निकायले भने गम्भीर चासो र शङ्काको दृष्टिले हेरेको छ । एक सुरक्षा अधिकारी भन्छन्, ‘यो अपवित्र गठबन्धन’ हो ।

नाम नबताउने सर्तमा एक उच्च सुरक्षा अधिकारीले भने, ‘यो मिलापलाई हामीले सामान्य रूपमा लिएका छैनौं । यो एउटा ‘अपवित्र गठबन्धन’ हो र यसप्रति हामी पूर्ण रूपमा संवेदनशील छौं ।’ उनका अनुसार करिब १६–१७ वर्षदेखि नबोलेका र एकअर्काको ज्यान लिने तहमा पुगेका व्यक्तिहरू अचानक एक ठाउँमा आउनुको पछाडि कुनै ठूलो स्वार्थ लुकेको हुनसक्छ । अर्का एक सुरक्षा अधिकारीले यो अवस्थालाई चित्रण गर्दै भने, ‘यिनीहरू हात्ती जस्तै हुन्, जुध्दा पनि समस्या, मिल्दा पनि समस्या । उनीहरूको झगडाले समाजमा त्रास फैलाउँथ्यो भने उनीहरूको मिलापले संगठित अपराधको नयाँ अध्याय सुरु गर्ने खतरा छ ।’

मध्यस्थकर्ता मनोजविक्रम शाहले यो भेटलाई विमानस्थलमा भएको ‘आकस्मिक संयोग’ बताए पनि यसका पछाडि गहिरो राजनीतिक र व्यावसायिक स्वार्थ लुकेको विश्लेषण गर्न थालिएको छ । दुवै पात्रको राजनीतिक महत्वाकांक्षा छ । २०७९ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (ख)बाट एमालेका उम्मेद्वार बनेका पर्शुराम बस्नेतलाई उनै अभिषेक गिरीको समूह लागेर हराएको थियो । उक्त क्षेत्रमा काँग्रेसका केदार कार्की विजयी बनेका थिए । कार्की मुख्यमन्त्री समेत भए ।

आगामी चुनावमा सोही क्षेत्रबाट उम्मेद्वार बन्ने पर्शुराम बस्नेतको तयारी छ । उता, अभिषेक गिरी पनि विराटनगर र कटहरी गाउँपालिका जोडेर बनेको मोरङ क्षेत्र नम्बर ४ (ख)बाट उम्मेद्वार बन्ने निकटस्थहरुलाई बताउँदै आएका छन् । दुवैजनालाई निर्वाचनमा विजयी हुन एक अर्काको सहयोग चाहिन्छ । ‘अभिषेक जी पनि चुनाव लड्ने भन्दै हुनुहुन्छ,’ काँग्रेसका एक नेता भन्छन् ।

सुरक्षा स्रोत भन्छ, ‘आगामी चुनावमा आ–आफ्नो क्षेत्रमा जित सुनिश्चित गर्न एकअर्काको शक्ति आवश्यक पर्ने बुझाइका साथ यो मिलाप भएको हुनसक्छ । क्यासिनो, ठेक्कापट्टा र अन्य अवैध धन्दामा दुवैको संलग्नता रहेको र बजारमा आफ्नो एकाधिकार कायम गर्न यो साझेदारी भएको हुनसक्छ ।’

मध्यस्थकर्ता शाहले भने यसलाई केवल असमझदारी हटाउने प्रयासको रूपमा व्याख्या गरेका छन् । ‘जीवनमा कहिलेसम्म दुश्मनी साँधेर बस्ने ? उहाँहरूबीचको असमझदारी हटेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ शाहले भने । उनले बाहिर चर्चा भएजस्तो कुनै ठूलो योजना वा षड्यन्त्र नभई सामान्य मानवीय सम्बन्ध सुधारको प्रयास मात्र भएको बताएका छन् ।

कुनै समय एउटै समूहमा रहेर विराटनगरमा आफ्नो दबदबा कायम गरेका बस्नेत र गिरीबीच २०६४ सालदेखिको सम्बन्ध टुटेको थियो । २०६५ सालमा तत्कालीन जिल्ला विकास समितिमा टेन्डर लुट्ने क्रममा भएको झडपमा करण यादव मारिएपछि गिरी पक्राउ परे ।

जेलबाटै गिरीले २०६६ फागुनमा पर्शुराममाथि दुई गोली हान्न लगाए, जसमा उनी गम्भीर घाइते भए । त्यसको बदला लिन २०६८ जेठ १८ मा पर्शुराम समूहले अदालतमा पेशीका लागि ल्याइएका गिरीमाथि आक्रमण ग¥यो । गिरीलाई जोगाउन प्रहरीले अदालतभित्रै गोली चलाउनु परेको थियो ।

दोलखाबाट आएका बस्नेत छोटो समयमै विराटनगरका ‘दादा’ बने । एमाले निकट पिपुल्स भोलेन्टियर्सको विराटनगर संयोजक तथा जिल्ला खेलकुद विकास समितिका सदस्य हुँदै पर्शुराम २०६८ सालसम्म आइपुग्दा युथफोर्स मोरङका अध्यक्ष बने ।

त्यसबेला एमाले नेता विनोद ढकालसँगको निकटता पर्शुरामलाई निकै फापेको थियो । तर, अहिले बस्नेत र ढकालको सम्बन्ध राम्रो छैन । पर्शुरामकै कारण आफू बद्नाम भएको भन्दै ढकाल अहिले हल्का महसुस गरेको निकटस्थहरुलाई बताउँछन् । पर्शुरामको समूहले २०६८ सालमा पत्रकार खिलनाथ ढकालमाथि आक्रमण गरेपछि उनका विरुद्धमा नेपाल पत्रकार महासंघ मोरङको नेतृत्वमा लामो समय आन्दोलन भएको थियो । हाल बस्नेत नेकपा एमाले निकट खेलकुद महासंघको केन्द्रीय अध्यक्ष छन् । साथै उनी एमाले कोशी प्रदेश समिति सदस्य तथा विराटनगरका इन्चार्ज पनि हुन् ।

गिरी पनि यस्तै गतिविधिमा लामो समयदेखि सक्रिय छन् । करण यादव हत्याकाण्डमा पक्राउ परे पनि उनले सफाइ पाएका थिए । पछि, २०७० सालमा काठमाडौंमा एक सरकारी कर्मचारीलाई अपहरण गरी फिरौती मागेको आरोपमा पक्राउ परी ९ वर्ष जेल सजाय भोगेर उनी छुटेका हुन् । जेलभित्रैबाट पनि उनले त्यसखालका गतिविधि सञ्चालन गरेको रेकर्ड छ ।

युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।