काठमाडौँ । जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) को मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। अहिराजले आफ्नो थुनामुक्तिको माग गर्दै दिएको निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
अहिराजले जिल्ला अदालत र उच्च अदालतको आदेशलाई चुनौती दिँदै कात्तिक २३ गते सर्वोच्च अदालतमा थुनामुक्त गर्न माग गर्दै फौजदारी कसुर ऐनको दफा ७३ अन्तर्गत निवेदन दायर गरेका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको सम्पूर्ण फाइल (मिसिल) झिकाउन आदेश दिएको हो। अब जिल्ला र उच्च अदालतबाट मिसिल आएपछि मात्र सर्वोच्चले उनलाई थुनामै राख्ने वा थुनामुक्त गर्ने भन्ने विषयमा अन्तिम निर्णय दिनेछ।
यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले गत साउन १४ गते अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो। जिल्ला अदालतको उक्त आदेशविरुद्ध अहिराज उच्च अदालत पाटन पुगेका थिए। तर, उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले २०८२ भदौ १२ गते जिल्ला अदालतको आदेशलाई नै सदर गरेको थियो।
एक महिलाले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि अहिराजलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। जिल्ला र उच्च अदालत दुवैबाट थुनामा राख्ने आदेश सदर भएपछि उनी अन्तिम विकल्पका रुपमा सर्वोच्च अदालत पुगेका हुन्।
