भोजपुर । दशैं–तिहार सकिएसँगै भोजपुरका किसान अहिले खेतबारीमा पाकेका धान भित्र्याउने काममा व्यस्त छन् ।

लगातारको वर्षातका कारण ढिलो भएको धान थन्क्याउने कार्य अहिले तीव्र गतिमा भइरहेको छ।

बिहानैदेखि किसान खेतमा धान काट्ने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् । केही दिन अघिसम्मको अविरल वर्षाले खेतमा प्रवेश गर्नै कठिन भएको भए पनि अहिले मौसममा सुधार आएपछि गाउँ–गाउँमा चहलपहल बढेको छ ।

भोजपुर नगरपालिका–५ का किसान भिमसेन फुयालले भने, ‘हामी किसान अहिले धान थन्क्याउने काममा व्यस्त छौँ। वर्षाले ढिलाइ गर्‍यो तर अहिले मौसम खुलेपछि राहत महसुस गरेका छौँ ।’ स्थानीय कृषक कमला थापाले पनि वर्षातका कारण केही धानबालीमा क्षति पुगेको बताइन् । ‘वर्षातले केही धान नोक्सान गर्‍यो,’ उनले भनिन्, ‘तर, जे बाँकी छ, त्यसलाई थन्क्याउने काममा जुटेका छौँ। अहिले हाम्रो मुख्य काम यही हो ।’

बेमैसमी वर्षा, रोग–कीरा तथा कीटजन्य समस्याका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन केही घट्ने किसानको अनुमान छ। धान भोजपुरका किसानको प्रमुख अन्नबाली हो र जिल्लाका नौवटै स्थानीय तहमा यसको खेती हुने गरेको छ।