विराटनगर । सुनसरीको धरानमा धरानमा बाघको डमरु भेटिएको हल्ला भएपनि त्यो विरालो प्रजातिको बाघ जस्तै जनावर भएको पाइएको छ ।
मंगलबार राति धरान उपमहानगरपालिका १४ हात्तीसार क्षेत्रमा फेला परेको बाघको डमरु जस्तै देखिने बच्चा विरालो प्रजातिको जनावर भएको बन कार्यालयले जनाएको छ ।
धरान १६ बस्ने १८ वर्षीय युसन राई, १८ वर्षीय सिमन राई र धरान १३ बस्ने १७ वर्षीय अमन लिम्बूले बाघजस्तै देखिने सो जनावर फेला पारी प्रहारीमा बुझाएका थिए । प्रहरीले वन कार्यालय धरानलाई जिम्मा लगाएको थियो ।
वन बिरालोको रुपमा चिनिने त्यो जनावर बाघजस्तै देखिने भएकोले लालबाघ, निगाले बाट र चरी बाघ पनि भन्ने गरिएको बन कार्यालयले जनाएको छ । सानो आकारको जंगली बिरालोको छालामा बाघजस्तै डोरा र दाग हुने भएकाले नाममा बाघ जोडिएको हो ।
वन रक्षक लालबहादुर श्रेष्ठले यो बिरालोकै एक प्रजाति भएको बताउँदै उनले यसको साइज पनि बिरालो जत्रै हुने जानकारी दिए । यो सुनसरीको रामधुनी क्षेत्रमा पाइने बताइएको छ ।
पोथी प्रजातिको चरी बिरालो डेढ केजी तौलको रहेको छ । त्यसलाई संरक्षणका निम्ति निकुञ्जमा पठाउने वा वन क्षेत्रमै छाड्ने भन्नेबारे छलफल भइरहेको श्रेष्ठले बताए । ‘हामीले संरक्षणका लागि निकुञ्जमा पठाउने कि भन्नेबारे छलफल भइरहेको छ,’ उनले थपे ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार बाघकै प्रजाति भन्दै स्थानीय युवाहरूले भेटेर प्रहरीमा बुझाएपछि आफूहरूले वन कार्यालयलाई बुझाइएको छ । बाटोमा अलमलिएको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएपछि राति नै वन कार्यालयलाई बुझाएको उनले बताए ।
बाघजस्तै देखिने सानो आकारको यो जनावर तराईका वन क्षेत्रमा पाइन्छ । नेपालमा यो प्रजाति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित जनावरको सूचीमा छ।
यो जनावर आकारमा घरेलु बिरालोभन्दा अलि ठूलो र चितुवा वा बाघभन्दा धेरै सानो हुन्छ । यसको तौल ३ देखि ७ किलोग्राम हुने बताइन्छ ।
रातमा सक्रिय हुने यो जनावरले साना जनावर, मुसा, चराहरू, बेंले, रुखमा बस्ने जनावरको शिकार गर्ने गर्दछ । यो पानीमा पौडिन पनि सक्ने बताइएको छ ।
