विराटनगर । कोशी प्रदेशमा लम्पी स्कीन रोगका कारण १ हजार ११६ वटा चौपायाको मृत्यु भएको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय धरानले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेशका ३ लाख ९४ हजार ५८५ चौपायामध्ये ३ लाख १५४ मा लम्पी स्कीन रोगको संक्रमण देखिएको छ ।

भाइरसबाट फैलिने यो रोग मुख्यतः गर्मी र बर्सातको समयमा व्यापक रूपमा देखा पर्ने गरेको छ । निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डेका अनुसार समयमै खोप अभियान सञ्चालन गरेर रोगलाई नियन्त्रणमा लिन सफल भएको हो । लम्पी स्कीन विरुद्ध सुई लगाइएपछि रोगको फैलावट घटेको पाण्डेले बताए।

कोभिड महामारीका बेला अष्ट्रेलियाबाट नेपालमा प्रवेश गरेको यो रोग यो वर्ष कोशी प्रदेशका सोलुखुम्बु बाहेक सबै जिल्लामा फैलिएको थियो । तर, पाँचथर र तेह्रथुममा भने कुनै चौपायाको मृत्यु नभएको निर्देशनालयले जनाएको छ।

गाईभैँसीमा लाग्ने यो रोग लागेपछि जनावरको शरीरमा गिर्खा जस्तो फोका देखिनु, ज्वरो आउनु, घाउ फुट्नु, तौल घट्नु र शरीर कमजोर हुनेजस्ता लक्षण देखिने गर्छ । लम्पी स्किन रोगका कारण विशेषगरी अत्यधिक श्रममा खटिने गोरु, भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र भर्खरै ब्याएका गाईभैँसी मर्ने गरेका छन् ।