विराटनगर । गुणस्तरीय शिक्षा प्रदानमा कटिबद्ध रहेको विराटनगरको शिक्षादीप कलेजले शान्ति र विकासका लागि विश्व विज्ञान दिवसको अवसरमा एक निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ ।

‘सामञ्जस्यताको लागि नवप्रवर्तन, शान्तिको लागि खोज’ शीर्षकमा केन्द्रित रही सोमबार विद्यालय परिसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काका अनुसार, प्रतियोगितामा विज्ञान संकायका ७० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । ‘शिक्षादीप कलेजले विभिन्न दिवसहरूमा कार्यक्रम आयोजना गर्दै आएको छ । यसले विद्यार्थीहरूलाई महत्वपूर्ण दिनहरूको बारेमा जानकारी गराउनुका साथै उनीहरूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दछ ,’ उनले भने । कलेजले हरेक वर्ष अन्तर्राष्ट्रिय विज्ञान दिवसमा पनि यस्तै प्रतियोगिताहरू आयोजना गर्ने गरेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कलेजका निर्देशक रामचन्द्र अधिकारीले विश्वमा शान्ति स्थापना हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘नवप्रवर्तन र आविष्कारले मानव–मानव बिचमा मेलमिलाप बढाउनुपर्छ । यो शान्ति मानव समाजमा मात्र सीमित नभई सम्पूर्ण धर्तीमा कायम हुनुपर्छ ।’ उनले नयाँ पुस्तालाई यसतर्फ खोज र अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे ।

कलेजले प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई छुट्टै कार्यक्रम आयोजना गरी पुरस्कृत गरिने जनाएको छ । यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूको बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।