लोड हुँदैछ...

मेनु

पूर्वसांसद योगेन्द्र मण्डलद्वारा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ दर्ता

पूर्वसांसद योगेन्द्र मण्डलद्वारा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ दर्ता

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका सांसद योगेन्द्र मण्डलले नयाँ राजनीतिक दल दर्ता गरेका छन् ।

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि दल दर्ता गर्न गरेको आह्वानअनुसार उनले शुक्रबार ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ नामक नयाँ दलको विधिवत् दर्ता गराएका हुन् । पार्टीको चुनाव चिह्न भने उनले आफ्नो स्वतन्त्र उम्मेदवारीको पहिचान बनेको ‘चापाकल’ नै राखेका छन् ।

पुराना राजनीतिक दलहरूको कार्यशैली र हालै उदाएका नयाँ शक्तिहरूको प्रदर्शनप्रति समेत तीव्र असन्तुष्टि जनाउँदै मण्डलले देशलाई नयाँ दिशा दिन आफ्नै नेतृत्वमा पार्टी स्थापना गरेको बताएका छन् । सामाजिक उद्यम र विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय मण्डलले राजनीतिको फोहोरी खेल सफा गर्न र देशमा व्याप्त बेथिति अन्त्य गर्न आफू प्रत्यक्ष राजनीतिमा होमिएको प्रष्ट पारेका छन् ।

मण्डलले नयाँ पार्टी खोल्नु आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि देश र जनताको आवश्यकता भएको बताए । ‘पुराना पार्टीहरूको विरुद्धमा जेन–जेड’ को ठूलो आन्दोलन भयो, जसको मुख्य माग भ्रष्टाचार र बेथितिको अन्त्य थियो,’ उनले भने, ‘त्यही आन्दोलनको बलमा बनेको नयाँ सरकारले पनि जनताको अपेक्षाअनुसार काम गर्न सकेन । भ्रष्टाचार कसरी निर्मूल पार्ने र बेथिति कसरी हटाउने भन्नेबारे कुनै ठोस योजना वा भिजन नै देखिएन ।’

उनले पुराना शक्तिहरू असफल भइसकेको र नयाँ भनिएकाहरूले पनि आशा जगाउन नसकेको अवस्थामा एउटा प्रष्ट भिजन र स्वच्छ नियतसहितको राजनीतिक शक्तिको खाँचो महसुस गरेर पार्टी स्थापना गरेको बताए ।

‘राष्ट्रिय ऊर्जाशील पार्टी’ को सैद्धान्तिक आधार ‘नेपालवाद’ हुने मण्डलले बताए ।कुनै पनि राजनीतिक वादभन्दा देश र जनताको हित सर्वोपरि हुने उनको भनाइ छ । पार्टीले लोकतन्त्रलाई मूल मन्त्र मान्ने र वर्तमान संविधानको दायराभित्र रहेर काम गर्ने उनले स्पष्ट पारे ।

आगामी दिनमा अन्य दलहरूसँगको सहकार्यबारे सोधिएको प्रश्नमा उनले भने, ‘हामी जो कोहीसँग पनि सहकार्य गर्न तयार छौं, तर त्यसको एउटै शर्त छ— नियत सफा हुनुपर्‍यो र देश बनाउने योजनामा सहमति हुनुपर्‍यो ।’

उनले समानुपातिक प्रणालीको दुरुपयोग गरी नेताहरूले आफ्ना श्रीमती, साली र भाइ–भतिजालाई सांसद बनाएको भन्दै आफ्नो पार्टीमा यस्तो विकृति हुन नदिने प्रतिज्ञा गरे । ‘हाम्रो पार्टीको विधानमै अध्यक्ष र पदाधिकारीको तीन पुस्ता तथा केन्द्रीय सदस्यको दुई पुस्तासम्मका कसैले पनि समानुपातिकमा अवसर नपाउने व्यवस्था गर्दैछौं,’ उनले भने, ‘वास्तविक रूपमा पछाडि परेका र अवसर नपाएका समुदायलाई हामी प्राथमिकता दिनेछौं ।’

संघीयता खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखजस्ता पेचिला मुद्दाहरूमा आफ्नो पार्टीले अहिले नै कुनै ठोस धारणा नबनाएको मण्डलले बताए । ‘यी विषयहरूमा हामी पक्ष र विपक्ष दुवैसँग विस्तृत छलफल गर्छौं । जनताको हितमा जे उत्तम हुन्छ, त्यही निर्णय लिन्छौं,’ उनले भने, ‘हतारमा कुनै निर्णय लिएर देशलाई थप अस्थिरतातर्फ धकेल्ने हाम्रो मनसाय छैन ।’

जीवन विकास समाजजस्तो सफल लघुवित्त संस्थाका संस्थापक मण्डलले आफ्नो राजनीतिक यात्रालाई सामाजिक सेवाकै विस्तारित रूप भएको बताए । उनले आफूले सञ्चालन गरेको अस्पतालको एउटा सानो प्रशासनिक त्रुटिले गर्दा जनताले कसरी दुःख पाइरहेका छन् भन्ने उदाहरण दिँदै राजनीतिमा नआई यस्ता बेथितिहरू अन्त्य गर्न असम्भव रहेको निष्कर्षमा पुगेको बताए ।

‘प्रदेश सरकारले दिएको एउटा अनुमतिपत्रमा मिति गलत हुँदा डेढ महिनादेखि हाम्रो अस्पतालको सिटिस्क्यान र एमआरआई मेसिन रोकिएको छ,’ उनले भने, ‘यो सानो गल्तीले गर्दा गरिब जनताले महँगो शुल्क तिरेर विराटनगर जानुपरेको छ । यस्तो देखेपछि चुप लागेर बस्न सकिएन ।’

अन्त्यमा, उनले आम नेपाली जनतालाई अबको निर्वाचनमा भोट दिँदा कुनै पनि दल वा उम्मेदवारको नियत, रणनीति र भिजनलाई राम्ररी केलाएर मात्र निर्णय लिन आग्रह गरेका छन् । उनले आफ्नो पार्टीले देशलाई नयाँ र सकारात्मक दिशा दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।