विराटनगर । विराटनगरस्थित सिंघीया खोलामा गएको सोमबार एक एम्बुलेन्स चालकको शव भेटियो । अघिल्लो शनिबार खोलामा पसेर वेपत्ता भएका २७ वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार भेटिएको थियो ।

यो घटना मण्डल परिवारका लागि दोस्रो पीडा हो । किनभने ५ वर्षअघि श्रवणका माइला दाइ सुमन मण्डल पनि सोही सिंघीया खोलामा बेपत्ता भएका थिए र उनको शव आजसम्म फेला परेको छैन ।

अघिल्लो शनिबार बिहान करिब साढे ९ बजेतिर श्रवण घरबाट निस्किएका थिए । उनका दाइ इन्द्रकुमार मण्डलका अनुसार उनी हस्पिटल चोकतिर जान्छु भनेर निस्किएका थिए । त्यसपछि उनी सम्पर्कमा आएनन् । परिवारले खोजी गर्दा पनि फेला पार्न सकेको थिएन । गत सोमबार बिहान स्थानीयले सिंघीया खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए र शव श्रवणको भएको पहिचान भयो ।

श्रवणको मृत्यु हुनुअघिको एउटा सिसिटिभी फुटेज बाहिर आएको छ । जसमा उनी एक अपरिचित साथीसँग हिँडिरहेको देखिन्छ । परिवारका अनुसार त्यो व्यक्तिलाई उनीहरूले चिन्दैनन् । फुटेजमा श्रवण सामान्य अवस्थामा देखिन्छन् र ती व्यक्तिसँग कुराकानी गर्दै अघि बढ्छन् ।

श्रवणका दाइ र बुबाले यो घटनालाई सामान्य डुबेर मृत्यु भएको मान्न तयार छैनन् । उनीहरूले हत्याको आशंका गर्दै प्रहरीलाई गम्भीर अनुसन्धान गर्न आग्रह गरेका छन् । ‘मेरो भाइलाई पौडी खेल्न आउँथ्यो र जहाँ उसको शव भेटियो, त्यो ठाउँमा पानी पनि गहिरो छैन,’ श्रवणका ठूला दाई इन्द्रकुमार मण्डलले भने, ‘ऊ आफैंले त्यस्तो गर्ने मान्छे होइन । सिसिटिभीमा देखिएको केटा घटनापछि गायब छ । हामीले खोज्दा पनि फेला पारेका छैनौं । त्यो केटालाई पक्राउ गरेर सोधपुछ गरे मात्रै सत्यतथ्य बाहिर आउँछ ।’

परिवारका अनुसार श्रवणको कसैसँग कुनै दुश्मनी थिएन । उनी आफ्नै एम्बुलेन्स चलाएर स्वरोजगार बनेका थिए र सबैैसँग राम्रो सम्बन्ध थियो । उनले ४ वर्ष अगाडि ६ लाखबढी लागतमा एउटा एम्बुलेन्स किनेका थिए । अहिले उक्त एम्बुलेन्स उनीहरु बसोबास गरेको भाडाको घर अगाडि राखिएको छ । उनका ६२ वर्षीय बुबा गंगा प्रसाद मण्डलले भने, ‘पहिले एउटा छोरो यही खोलाले लग्यो, अहिले अर्को पनि । हाम्रो परिवारमाथि ठूलो दुःख आइलाग्यो ?, के भएको हो बुझ्नै सकिएको छैन ।’

मण्डल परिवारका लागि यो दोस्रो ठूलो चोट हो । करिब ५ वर्षअघि श्रवणका साइँला दाई सुमन मण्डल मलामी गएका बेला सिंघीया खोलामै बेपत्ता भएका थिए । उनको खोजीमा भारतसम्म पुग्दा पनि शव फेला परेन । पछि परिवारले कुशको शव बनाएर उनको अन्तिम संस्कार गरेको थियो । एउटै खोलामा दुई दाजुभाइको मृत्यु र बेपत्ताको घटनाले परिवारलाई स्तब्ध बनाएको छ । ‘त्यसबेला २० दिनसम्म खोज्दा पनि भेटेनौं । अहिलेसम्म उसको शव भेटेको पनि छैन । तर, हामीले काजकिरिया चाहिँ कुशको बनाएर गर्यौं,’ दाजु इन्द्रकुमारले भने, ‘अहिले पनि प्रहरीले फोन गरेर सोध्छ भाईको शव भेटियो कि भेटिएन भनेर ।’

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप जानकारी मिल्ने बताएको छ । परिवारले सिसिटिभी फुटेजमा देखिएका शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेको छ ।

श्रवणको दुई वर्षअघि मात्रै विवाह भएको थियो र एक वर्षकी छोरी छिन् । उनको असामयिक निधनले परिवार शोकमा डुबेको छ । हाल उनको घरमा काजकिरिया चलिरहेको छ र भेला भएका आफन्त तथा छिमेकीहरू पटकपटकको शोक किन आइलाग्यो भनेर चर्चा गरिरहेका छन् । मृतकका हजुरबा सुकदेव मण्डल ८२ वर्षका भए । हजुरआमा पनि सोही उमेरकी छिन् । लक्का जवान नातीहरु पालैपालो सिंघीय खोलामा परेको घटनापछि उनीहरु निदाउन सकेका छैनन् । ‘आमा, बुबा, हजुरबा र हजुरआमा सबै रोइरहनु भएको छ,’ नाती इन्द्रकुमार मण्डलले भने, ‘हामीमा के आइलाग्यो ग्रह शान्ति गराउनु पर्छ कि भनेर छलफल गरिरहेका छौं ।’ गंगाप्रसाद मण्डलका चार छोरा थिए ।