लोड हुँदैछ...

मेनु

श्रमदानबाट बनाएको भनिएको नारायण पथ ड्रेन निर्माणमा उपमहानगरबाट २३ लाख ८३ हजार रुपैयाँ भुक्तानी

श्रमदानबाट बनाएको भनिएको नारायण पथ ड्रेन निर्माणमा उपमहानगरबाट २३ लाख ८३ हजार रुपैयाँ भुक्तानी

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जनश्रमदानबाट बनेको भन्दै प्रचार गरेको धरान–१० नारायण पथको ड्रेन निर्माणमा उपमहानगरपालिकाबाट करिब २४ लाख रुपैयाँ भुक्तानी भएको पाइएको छ ।

धरानका उपप्रमुख अईन्द्रविक्रम बेघाले ड्रेन निर्माणको अनुगमनमा हिसाब किताब सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । वडाध्यक्ष विवेक राईले ड्रेन निर्माणका लागि नारायणपथबासीले प्रत्येक घरबाट ७ हजारका दरले रकम दिएको बताए । उनका अनुसार ड्रेन बनाउन देश विदेशबाट समेत सहयोग रकम आएको थियो ।

संकलन भएको रकमको हिसाब सार्वजनिक गरिएको छैन । श्रमदानमा ५६४ जना सहभागी भएको बताइएको छ । उनीहरूले दैनिक ज्याला लिएका थिएनन् । तर, खाजा खर्चमा ठूलो रकम खर्च भएको बताइएको छ ।

सार्वजनिक गरिएको हिसाब अनुसार ड्रेन निर्माणमा मिस्त्री खर्च ६९ हजार २४८ रुपैयाँ, सिमेन्ट ९ लाख ५९ हजार ९४१ रुपैयाँ ६९ पैसा, गिट्टी २ लाख ९९ हजार ७१७ र बालुवा १ लाख ५० हजार ३२९ रुपैयाँ ४३ पैसा खर्च भएको छ । यस्तै प्लाईबोर्ड १० हजार ७४२ रुपैयाँ ३८ पैसा, सेटिङ लगायतका काठ र सामान ५० हजार १३६ रुपैयाँ, छड ७ लाख ८१ हजार ६०२ रुपैयाँ, व्याण्डिङ तार ८ सय १८ रुपैयाँ, ढुङ्गा ढुवानी ट्याक्टर भाडा ५६ हजार ५४९ रुपैयाँ ८८ पैसा खर्च भएको छ ।

निर्माण कार्यको अनुगमनमा उपप्रमुख बेघासहित योजना प्रमुख वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, योजना शाखाका किरण भुजेल लगायत इन्जिनियर र अमिनहरू सहितको टोली पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।