लोड हुँदैछ...

मेनु

इनरुवा ६ का वडाध्यक्ष सुमन थापा पक्राउ

इनरुवा ६ का वडाध्यक्ष सुमन थापा पक्राउ

इटहरी । शरीर अंगभंग मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन् ।

कार्यवाहक जिम्मेवारी वडासदस्यलाई सुम्पेर लामो समयदेखि लुकेर बस्दै आएका थापालाई शनिबार राति इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो ।

प्रहरीले थापाका आफन्त र उनी लुकेर बस्न सक्ने सम्भावित स्थानमा निगरानी बढाएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेबेले थापा पक्राउ परेपछि अब कानुन बमोजिमको प्रक्रिया अघि बढाइने जानकारी दिए ।

दुर्घटना र मुद्दाको पृष्ठभूमि

२०८१ साल फागुन २२ गते साँझ चतराबाट कान्छीचोकतर्फ आउँदै गर्दा वडाध्यक्ष थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार देवीका खनाल गम्भीर घाइते भएकी थिइन् । विराटनगरस्थित विराट नर्सिङ होममा प्रारम्भिक उपचारपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिसियुमा भर्ना गरिएको थियो ।

लामो उपचारपछि डिस्चार्ज भए पनि उनी हालसम्म पनि अशक्त अवस्थामा रहेको पीडित पक्षले जनाएको छ । दुर्घटनापछि पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता गर्न खोज्दा अस्वीकार गरिएको थियो । पटक–पटक विभिन्न निकायमार्फत जाहेरी दर्ता गर्न खोज्दा पनि प्रहरीको ढिलासुस्तीका कारण दर्ता हुन नसकेको पीडितहरूले बताएका छन् ।

अन्ततः हुलाकमार्फत पठाइएको जाहेरी पनि लामो समयसम्म दर्ता नभएपछि पीडित पक्षले उच्च अदालत विराटनगरमा निवेदन दर्ता गर्नुपरेको थियो । उच्च अदालतले गत भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दिएपछि मात्र प्रहरी सक्रिय भएको थियो । त्यसपछि साउन १६ गते मुद्दा दर्ता भई साउन २० गते थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

निलम्बनको मितिपछि पनि पदासीन

फौजदारी अभियोगमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएपछि कानुनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति स्वतः निलम्बित हुने व्यवस्था छ । तर, वडाध्यक्ष थापाले भदौको पहिलो सातासम्म पनि वडाध्यक्षकै हैसियतमा कार्यालय सञ्चालन गरेका थिए ।

वडा कार्यालय स्रोतका अनुसार, थापाले भदौ ८ गतेसम्म वडाको कामकाज सञ्चालन गरी भदौ ९ गतेदेखि वडासदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर सम्पर्कविहीन भएका थिए । उनले काठमाडौँ उपचारका लागि गएको दाबी गरेका थिए ।

अनुसन्धानका लागि सात दिनको हिरासत अनुमति

यसबीच, सुनसरी जिल्ला अदालतले वडाध्यक्ष थापालाई सात दिन प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार, सवारी दुर्घटनासम्बन्धी शरीर अंगभंग मुद्दामा अनुसन्धानका लागि प्रहरीले म्याद थपको निवेदन दिएपछि अदालतले सात दिनको म्याद थप गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र कानुन बमोजिम आवश्यक कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।