विराटनगर । जिल्ला अदालत मोरङमा जागिर लगाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गर्ने एक संगठित गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमा–छोरी रहेका छन् भने ठगीका मुख्य योजनाकार मानिएका श्रीमान् भने फरार भएका छन् ।
मोरङ प्रहरीले विशेष सूचनाको आधारमा चलाएको अपरेसनमा सिराहाको लहान स्थायी घर भई हाल विराटनगर–५ मा डेरा गरी बस्ने ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमल कुमारी साहलाई शुक्रबार पक्राउ गरेको हो ।
यसरी चल्थ्यो ठगीको धन्दा
यो गिरोहले निकै योजनाबद्ध र विश्वसनीय तरिकाले आफ्नो ठगीको जालो फैलाएको थियो । प्रहरीका अनुसार, ठगीका मुख्य योजनाकार कोमलका श्रीमान् सन्जय यादव हुन् । जो हाल फरार छन् । स्रोतका अनुसार यादवले पहिले अदालतमा काम गरेकाले उनलाई त्यहाँको प्रक्रिया र कागजबारे राम्रो जानकारी थियो । यही अनुभवको दुरुपयोग गर्दै उनले मोरङ जिल्ला अदालतको नक्कली लेटरहेड, छाप, र जागिर खुलेको भ्रामक सूचना तयार पार्ने गर्थे । उनले अदालतका कर्मचारीले प्रयोग गर्ने जस्तै देखिने नक्कली परिचयपत्र समेत बनाएका थिए, जसलाई देखाएर उनीहरूले सर्वसाधारणलाई सजिलै विश्वासमा पार्थे ।
कोमलले आफूलाई अदालतको कर्मचारीका रूपमा प्रस्तुत गर्दै विभिन्न पदमा भर्ना खुलेको बताउँथिन् । उनले कार्यालय सहयोगी, खरिदार र नायब सुब्बा जस्ता पदका लागि आवेदन खुलाएको भन्दै पदअनुसार फरक–फरक शुल्क तोकेकी थिइन् । अनुसन्धान अनुसार, उनले कार्यालय सहयोगीका लागि २ हजार ५ सय ७५ रुपैयाँ, खरिदारका लागि ५ हजार सय ७५ रुपैयाँ र नायब सुब्बा पदका लागि ७ हजार ५ सय ७५ रुपैयाँ आवेदन शुल्क लिने गरेकी थिइन् । उक्त रकम उनले आफ्नी आमा पुनम देवी साहको नाममा रहेको ई–सेवा खातामा जम्मा गर्न लगाउँथिन्, ताकि उनीहरू सिधै शंकाको घेरामा नपरून् भन्दै ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यसरी खुल्यो रहस्य
ठगीको यो धन्दा तब बाहिर आयो जब पैसा बुझाएर लामो समयसम्म पनि जागिर नपाएपछि पीडितहरू सीधै अदालत पुगे । अदालत प्रशासनसँग बुझ्दा त्यहाँ कुनै पनि पदका लागि भर्ना नखुलेको जानकारी पाएपछि उनीहरू छाँगाबाट खसेझैं भए । आफूहरू ठगिएको निश्चित भएपछि मोरङका मात्रै ५० भन्दा बढी पीडितहरू एकजुट भएर जिल्ला प्रहरी कार्यालय, मोरङमा सामूहिक उजुरी दिएका थिए ।
उजुरी प्राप्त हुनासाथ मोरङ प्रहरीले अनुसन्धान टिम तयार पार्यो । त्यसपछि प्रहरीले टोलीले आमाछोरीलाई पक्राउ गरेको मोरङ प्रहरीको प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । पीडितहरूले उपलब्ध गराएको ई–सेवा नम्बर र अन्य जानकारीको आधारमा प्रहरीले पुनम र कोमललाई विराटनगरबाट पक्राउ गर्न सफल भएको उनले ताइन् । डीएसपी चुडालले भनिन्, “यो एक संगठित अपराध हो । उनीहरूले सरकारी निकायको विश्वासको दुरुपयोग गरेर सोझासाझा नागरिकलाई निशाना बनाएका छन् । हामीले आमा–छोरीलाई पक्राउ गरी आइतबार जिल्ला अदालत, मोरङबाट ठगी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान अगाडि बढाएका छौं ।”
मुख्य योजनाकारको खोजी तीव्र
प्रहरीले ठगीका मुख्य नाइके सन्जय यादवको खोजी कार्यलाई तीव्र बनाएको छ । उनको गिरफ्तारीपछि ठगीको जालो कहाँसम्म फैलिएको छ र यसमा अन्य को–को संलग्न छन् भन्नेबारे थप रहस्य खुल्ने प्रहरीको विश्वास छ । प्रहरीले यस गिरोहबाट ठगिएका अन्य व्यक्तिहरू पनि हुन सक्ने भन्दै प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । यो घटनाले सरकारी जागिरको प्रलोभनमा परेर बिनापुष्टि रकम बुझाउँदा कसरी फस्न सकिन्छ भन्ने कुरालाई उजागर गरेको छ ।


