विराटनगर । बीपी राजमार्गमा मंगलबार बिहान भएको कार दुर्घटनामा परी विराटनगरका एक पुरुषको निधन भएको छ भने अन्य दुई जना घाइते भएका छन् । विराटनगरबाट काठमाडौँतर्फ प्रस्थान गरेको बा ७ च ७५५४ नम्बरको कार सिन्धुलीको सुनकोसी गाउँपालिका–६, चैनपुरमा सडकबाट करिब ४२ फिट तल खसेर दुर्घटना भएको थियो ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार दुर्घटना बिहान करिब ११:१५ बजेतिर भएको हो । दुर्घटनामा कार चालक, मोरङको विराटनगर–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेलको उपचारका क्रममा निधन भएको हो । गम्भीर घाइते भएका अर्जेललाई उपचारका लागि स्थानीय अस्पताल लगिएकोमा १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मृतककी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन् । प्रहरीका अनुसार सुनिताको अवस्था गम्भीर रहेको छ र उनको दाहिने हात लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । निशान्तको अवस्था भने मध्यम रहेको र उनको दाहिने हातमा चोट लागेको बताइएको छ ।
घाइते दुवैलाई प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

