विराटनगर । देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले मंगलबार बिहान दिएको जानकारीअनुसार गएको १२ घण्टामा विशेषगरी गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान साथै कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका पहाड र तराई भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ ।

गण्डकी प्रदेशका मनाङ र मुस्ताङ आसपासका हिमाली क्षेत्रमा भने मध्यमदेखि भारीसम्म हिमपात भइरहेको मौसम विभागले जानकारी दिएको छ। थप वर्षा र हिमपात हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ ।