विराटनगर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक २० गतेसम्मका लागि जनसंघर्षका कार्यक्रम घोषणा गरेको छ ।
नेकपा केन्द्रीय समितिको बैठक २४ देखि ३० असोजमा कपिलवस्तुमा बसेको थियो। बैठकको निर्णय अनुसार पार्टीले दश दिने जन संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
कार्यक्रमअनुसार कात्तिक १३ गते सम्म भित्ते लेखन तथा १५ कात्तिकमा देशव्यापी मसाल जुलुस प्रदर्शन गरिनेछ। भित्ते लेखनमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, जेनजीमाथि भएको दमनको निष्पक्ष छानबिन गर, युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर जस्ता नारा लेखिने सो पार्टीले जनाएको छ ।
कात्तिक १७ मा देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा र २० कात्तिकमा काठमाडौंमा बृहत् जनसभा गर्ने सो पार्टीले जनाएको छ । सोमबार सामाजिक सञ्जालमार्फत एक सन्देश प्रवाह गर्दै विप्लवले २० गते काठमाडौंमा भेट्न अपिल गरेका छन्।
‘नेपाललाई अरूले होइन हामी आफैंले फेर्ने हो। अरूले होइन, नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

