चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन निर्वाचनको विकल्प नभएको बताएका छन् । परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको उनले बताएका छन् ।
आज चितवनमा पत्रकारसँग दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए।
उनले भने, ‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ’, उनले भने, ‘मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।’
संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह समेत गरेका छन् । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनको भनाइ थियो ।
‘यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ’, संयोजक दाहालले भने।

