विराटनगर । मोरङको उर्लाबारी – आमबारी सडक खण्डमा शनिबार दिउँसो भएको एक सवारी दुर्घटनाले जिल्लाको पूर्वी नाका हुँदै भारततर्फ हुने गरेको चौपायको व्यापक तस्करीको तथ्यलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ । गाईगोरु बोकेको पिकअप भ्यानले सिटी सफारीलाई ठक्कर दिएपछि तस्करीको यो सञ्जाल बाहिर आएको हो ।
उर्लाबारीबाट सिजुवातर्फ तीव्र गतिमा गइरहेको को २ च ८७५ नम्बरको पिकअपले रतुवामाई नगरपालिका–८ दाम्राभिट्टा बजारमा बाटो काट्दै गरेको प्र १–०१–००२ ह १९२६ नम्बरको सिटी सफारीलाई दिउँसो करिब २ : ३० बजे ठक्कर दिएको थियो । दुर्घटनामा सिटी सफारीका चालक, रतुवामाई–५ का ४४ वर्षीय कान्छा मियाँ घाइते भएका छन् । उनको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
दुर्घटनालगत्तै पिकअप चालक फरार भएका थिए । स्थानीयहरूले जब पिकअप भ्यानको खानतलासी गरे, तब भित्र निर्ममतापूर्वक कोचिएर राखिएको अवस्थामा ६ वटा गाईगोरु फेला परे । यो घटनापछि आक्रोशित स्थानीयले तस्करीमा प्रयोग भएका अन्य दुई पिकअपसहित १८ वटा गाईगोरु नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
तस्करीको ‘हटस्पट’ बन्दै पूर्वी नाका
स्थानीयहरूका अनुसार मोरङको पूर्वी नाका पशु तस्करीका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बनेको लामो समय भइसकेको छ । विशेषगरी उर्लाबारी–बरडंगा र उर्लाबारी–सिजुवा सडक खण्डको प्रयोग तस्करहरूले बढी गर्ने गरेका छन् । यसबाहेक डोरिया, चुनीमारी, सिक्टी, चोपडा, सोराभाग, नोचा लगायतका सहायक मार्गहरूबाट पनि ठूलो संख्यामा चौपाय भारततर्फ तस्करी हुने गरेको स्थानीयको भनाइ छ ।
स्थानीय एक व्यक्तिका अनुसार, यहाँ गाईगोरु तस्करीमा ठूलै गिरोह सक्रिय छ । सुरक्षा निकायको मिलेमतो बिना यति ठूलो मात्रामा तस्करी सम्भव छैन । उनका अनुसार दिनहुँ दर्जनौं पिकअप भ्यानमा गाईगोरु ओसारिन्छ, तर पनि सम्बन्धित निकाय मौन रहनु शंकास्पद छ ।
यस विषयमा मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले गाईगोरु तस्करीबारे आफूलाई विस्तृत जानकारी नभएको बताइन् । उनले प्रारम्भिक सोधपुछमा चौपाय स्थानीय बजारमा बिक्रीका लागि लगिएको भन्ने जानकारी आएकाले छाडिएको तर यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिइन् । तस्करीमा प्रहरीको संलग्नता भेटिएमा कडा कारबाही हुने उनले बताइन् ।
यस्तै, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेले पनि तस्करीमा सशस्त्र प्रहरीको मिलेमतो पाइएमा कारबाही हुने बताए । सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिएको उनले बताए । ‘कसैले तस्करसँग साँठगाँठ गरेको पाइएमा तत्काल कारबाही हुन्छ,’ उनले भने ।


