विराटनगर । पाँचथरमा एकैदिन सहित देशभर १४ आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपरासी पूर्व, रोल्पा, गुल्मी, रुकुम पश्चिम, कञ्चनपुर र दार्चुलामा एकैदिन अर्थात् कात्तिक ७ गते आगलागीका घटना घटेका छन् । पूर्वसावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, कात्तिक ६ गते पनि १३ आगलागीका घटना भएका थिए । झापा, इलाम, सुनसरी, संखुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालीकोट र पर्सामा दुई आगलागीका घटना घटेका थिए । यस्तै, पाल्पामा तीन आगलागीका घटना घटेका थिए ।

कात्तिक ५ गते १७ आगलागीका घटना घटेका थिए । मनसुन सकिएर वर्षा हुन छाडेपछि देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको देखिएको छ । आगलागीबाट जोगिन विशेष सावधानी अपनाउन समेत प्राधिकरणले आग्रह गरेको छ ।

कात्तिक ७ गते देशभर कुल १८ विपद्का घटना घटेका थिए । ती घटनामा परेर ६ जना घाइते भएका छन् । ती घटनामा परेर ७७ लाख ९१ हजार रुपैयाँबराबरको अनुमानित क्षति भएको छ ।