विराटनगर । सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिरदेखि भोजपुरको हतुवागढी–९ को कोप्चेसम्म मोटर बोट सञ्चालन सुरु भएको छ ।

सप्तकोसीमा बोट सञ्चालन भएसँगै भोजपुरसहित पहाडी क्षेत्रबाट धार्मिक पर्यटन, स्थानीय आवागमन र कृषि उत्पादनको बिक्री वितरणमा सहज भएको छ ।

सप्तकोसी नदीको तीव्र प्रवाहका कारण जोखिमपूर्ण मानिँदै आएको बराहक्षेत्र–कोप्चे खण्डमा ‘मकालु मोटरबोट’ सञ्चालनमा आएको हो । सुनसरी र भोजपुर दुवै प्रशासनले अनुमति दिएको मोटरबोट सेवाले स्थानीयलाई नयाँ यात्रा विकल्प दिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सप्तकोसी नदीको अनुगमनपछि कुनै कानुनी वा भौतिक अवरोध नदेखिएकाले अनुमति दिइएको बताए । बराहक्षेत्रदेखि कोप्चेसम्म करिब ६ किलोमिटर दूरी पार गर्न ५ सय रुपैयाँ भाडा तोकिएको छ ।

मोटरबोट चलेपछि छोटो समयमा धरान–इटहरी पुग्न थालिएको भोजपुरबासीले बताएकाक छन् । कृषकका फलफूल र तरकारी सजिलै बजार लगेर बिक्रि गर्न सहज भएको उनीहरुको भनाइ छ ।

मोटरबोटमा कोशीको सौन्दर्य अवलोकन गर्नेहरु पनि पुग्न थालेका छन् । सञ्चालक अनिस थापाले चतरामाथिको त्रिसुले घाघीको तीव्र प्रवाहका कारण नयाँ र सुरक्षित मार्ग छनोट गरी बोट संचालनमा ल्याईएको बताए । प्रशासनले यात्रुका लागि लाइफ ज्याकेट अनिवार्य लगाएर मात्र बोट चलाउन निर्देशन दिएको छ ।

सप्तकोसीमा मोटरबोट संचालन भएपछि भोजपुर, उदयपुर र धनकुटाको कोशी किनारका बासिन्दाले यातायातको विकल्पको रुपमा सेवा लिन थालेका छन् । यसअघि चतराको कोशी पुलबाट मोटरबोट सञ्चालन हुँदै आएकोमा नदिभित्रको सो खण्डमा अबरोध रहेकोले बहाहक्षेत्र मन्दिरबाट मात्र सञ्चालन भएको हो ।